[ मलाया खबर सहकर्मी ]
क्वालालम्पुर ( मलेसिया ):=हिजो अगष्ट १६ तारिख आईतवारको दिन नेपाल आदिवासी जनजाति महासंघ मलेसिया शाखाले २६ औं विश्व आदिवासी दिवस तथा शुभकामना आदन प्रदान,अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।
‘पहिचान सहितको संघीयता र स्वायत्तताका लागि संविधान संशोधनको आन्दोलन हाम्रो साझा बहस ! स्वनिर्णित विकास र महा-माहामारीमा बाच्ने तथा बचाउने पक्षमा २६औ विश्व आदिवासी दिवस !!’ भन्ने मूल नाराका साथ जलान सिलाङ स्थित परदेशी रेष्टुरेन्टको माथिल्लो तलामा रहेको नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको कार्यालय रहेको हलमा आयोजित कार्यक्रमको अध्यक्षता महासंघ मलेसियाका अध्यक्ष विपिन राईले गर्नु भएको थियो ।

सो कार्यक्रमलाई आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष जगत बरामले भिडियो सन्देश मार्फत सम्बोधन गर्दै शुभकामना दिनु भएको थियो । त्यसैगरी महासंघका सल्लाहकार तथा पूर्व महासचिव जीवन देवान गाउँले, किरात याक्थुङ चुम्लुङ मलेसियाका अध्यक्ष दील कुमार केरुङ, नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष जगत दोङ, प्रवासी थारु सेवा समाज मलेसियाका कोषाध्यक्ष तथा समाजसेवी रमेश थारु ले पनि २६ औ विश्व आदिवासी दिवसको अवसरमा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

शुभकामना मन्तव्य दिने क्रममा समाजसेवी रमेश थारुले महासंघ मलेसियाको कार्यालय व्यवस्थापनका लागि १ थान कम्प्युटर प्रदान गर्ने घोषणा गर्नु भएको छ । ईश्वर राईले संन्चालन गर्नु भएको उक्त कार्यक्रमलाई महासंघका उपाध्यक्ष फुर्ब दोर्जे मोक्तानको मन्तब्यबाट स्वागत गरिएको थियो ।
महासंघ भित्र रिक्त रहेको पदपुर्ति :

महासंघ मलेसियाले कार्यसमितिमा रिक्त रहेको पदहरुमा पदपुर्ति गरेको छ । महासंघ सम्बद्ध जातीय संस्थाको सिफारिसमा उक्त रिक्त पदहरुमा मनोनयन गरिएको हो । जस अन्तर्गत नेपाल तामाङ घेदुङ मलेसियाको सिफारिसमा विक्रम तामाङ लाई महासचिवमा मनोनित गरिएको छ । भने, सुदिप शेर्मालाई किरात याक्थुङ चुम्लुङ मलेसियाको सिफारिसबाट सचिवमा मनोनित गरिएको छ ।
महासंघको नीति अनुसार जुन जातिय संस्थाले प्रतिनिधित्व गरेको पद रिक्त भएको हो, सो पदमा सोही जातिय संस्थाको प्रतिनिधित्व रहने गरि मनोनित गरिएको हो । त्यसैगरी अध्यक्षले आफ्नो अधिकार प्रयोग गर्दै राम प्रसाद मगरलाई सदस्यमा मनोनित गरेको छ ।


मनोनित तीनैजना पदाधिकारीहरुलाई १६ अगष्ट २०२० का दिन सम्पन्न एक कार्यक्रममा अध्यक्ष विपिन राईले पद वहाली प्रमाण-पत्र प्रदान गर्नु भएको छ । मलेसियाको कार्यावधि सकिएर नेपाल फर्किनु पर्ने भएको हुदा सविन लोप्चन तामाङले राजिनामा दिएपछि महासचिव पद रिक्त रहेको थियो। त्यसैगरि रिक्त सचिव पदका यम लिम्बूलाई भने महासंघले नै कारवाही गरि बर्खास्त गरेको थियो





















