सीपले इज्जत दियो, परिश्रमले पैसा

सुर्खेत ।मानविकी संकाय पढेर सरकारी जागिर खाने योजना थियो इमान सिं बस्नेतको । पढ्दा पढ्दै उहाँ प्राइभेट जागिरको लागि काठमाडौं छिर्नुभयो । समयले उहाँलाई होटलको जागिरे बनायो । विदेश गएर टन्न पैसा कमाउने रहर पनि नभएको होइन उहाँलाई । धेरै पल्ट म्यानपावरको ढोका ढक्ढकाए पनि भिसा लाग्ने छाँट नदेखिएपछि होटलमा गरे बराबर काम गर्ने हो भने आफैंले केही गर्न सक्ने मनमा लाग्यो । त्यसपछि आफ्नै गाउँघर फर्किनु भएका बस्नेत अहिले व्यावसायिक च्याउखेतीमा व्यस्त हुनुहुन्छ । 

जीवन धान्नका लागि पैसा चाहिन्छ तर आफ्नै समाजमा घरपरिवारसँग बसेर पैसा कमाउन सके जीवन खुसी बन्छ भन्ने राम्रोसँग बुझेपछि व्यावसायमा लाग्नु भएका बस्नेतले अहिले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सफल च्याउ उत्पादक र असल कृषकको रुपमा आफ्नो परिचय बनाउनुभएको छ । हिमालय टाइम्ससँगको कुराकानीमा बस्नेतले भन्नुभयो, ‘सीपले इज्जत दियो, परिश्रमले पैसा ।’

सुरुका दिनमा तालिम तथा दक्ष प्राविधिकको अभाव भएका कारण उहाँले अरुहरुले गरेको च्याउ खेती हेर्न जानु हुन्थ्यो । देखासिकीकै कारण आफैंले च्याउ उत्पादन सुरु गर्दा बस्नेतले च्याउ उत्पादन त गर्नुभयो तर बजारको निकै समस्या भयो । च्याउ खानु हुँदैन यो त अशुद्ध पो हो त भन्ने अन्धविश्वासका कारण उपभोक्ता त के खरिदकर्ताहरुले समेत च्याउ किनिदिएनन् । मन खिन्न भयो । 

सुरुमा दुई सय डल्लाबाट उत्पादन थालेर दुर्गा पशु कृषि तथा च्याउ फर्मका उद्यमी बन्न सफल कृषक बस्नेतले अहिले तीन हजार डल्लासम्ममा च्याउ उत्पादन गर्नुहुन्छ । उहाँको च्याउखेतीलाई अवलोकन गर्न आउनेहरुले समेत हौसला दिने गरेका कारण बेमौसममासमेत च्याउ खेती गर्ने योजना बन्यो बस्नेतको । जसको कारण उहाँले यस वर्ष बेमौसममा पनि च्याउखेतीबाट लगानी कटाएर दुई लाख चोखो आम्दानी गर्न सफल हुनुभयो ।  

विश्वमा फैलिएको कोरोनाको कारण भएको बन्दाबन्दीले उत्पादन हुनै थालेको च्याउले बजार नपाउने चिन्ताले पिरोलिरहेका बेला उपभोक्ताहरु नै फर्मसम्म पुगेर च्याउ किनिदिएपछि लगानी डुब्ने हो कि भन्ने शंका मात्र हराएर लकडाउनमै दुई लाख आम्दानी भयो । सरकारले अनुदानका कार्यक्रमहरु ल्याउने अनि शक्ति र सत्ताका रहनेहरुले कागज मिलाएर सरकारी पैसाको दुरुपयोग गरेकोमा बस्नेतको चित्त दुख्छ । सरकारले अनुदानका नाममा पैसा बाँड्नु हुँदैन भन्ने मान्यता राख्ने बस्नेत प्रविधिको ज्ञान र सीप दिन सक्नु पर्छ र आवश्यक सामग्रीहरु उपलब्ध गराएमा कृषकहरु निरन्तर पेशामा लागिरहन सहज हुने बताउनुहुन्छ । 

आफूले पाँच लाख लगानी गरेर रातदिन नभनि पेशामा लागेको छु तर सरकारले ५० देखि ६० हजारको हाराहारीमा दिने अनुदानले के सहयोग पुग्छ र ? बस्नेतले प्रश्न गर्नुभयो । पर्याप्त मात्रामा गुणस्तरिय विउ उपलब्ध मात्र गराइ दिएको भएपनि कर्णाली प्रदेश त के अन्य प्रदेशहरुमा समेत च्याउ निर्यात गर्न सक्ने क्षमतामा पुगिसकेको बताउँदा बस्नेत भन्नुहुन्छ मलाई देखेर अरुहरुले पनि सिको गर्न नखोजेका होइनन् तर निरन्तरता भएन अनि आफैंमा सीपको विकास गर्न सकेनन् ।

सुरुका दिनमा लागेको घाटा यसै व्यावसायबाट असुल गर्नुपर्छ भन्ने उद्देश्यबाट भने म बिचलित भइन बस्नेतले बताउनुभयो । अहिले कर्णाली प्रदेशमै सफल च्याउ उत्पादक बन्न सकेको छु । कतिपय ठाउँमा प्रशिक्षकको रुपमा अरुलाई च्याउखेतीका बारेमा ज्ञान सीप बाँड्दाको अनुभव भने निकै रमाइलो छ, बस्नेतसँग । 

प्रविधिलाई प्रयोग गरेर आवश्यक सामग्रीको व्यवस्थापनले वर्षका बाह्रै महिना सुर्खेतमा च्याउ उत्पादन गर्न सकिन्छ भन्ने आफैंले प्रमाणित गर्न सफल भएको बस्नेत बताउनुहुन्छ । अहिले आद्रता मेसिन, अटो (फोकस) सिंचाई वातावरणलाई सन्तुलित राख्नका लागि एडजष्ट फेनको प्रयोग गरिसक्नु भएका बस्नेतले अब एसीको प्रयोग गर्ने लक्ष्य राख्नुभएको छ । जसले गर्दा व्यावसायलाई अझ उचाइँमा पु¥याउन सकिन्छ, उहाँले भन्नुभयो ।