भूमिराज पराजुली
११ जुन २०२० अर्थात बिहिबार मलेसिया स्थित नेपाली दुतावासले नेपाल फर्कन चार्टर्ड उडानबारेको जुरुरि सुचना सार्वजनिक गर्यो । यो शिर्षकको सुचना मलेसियामा रहेका नेपाली जो अहिले कोभिड १९ का कारण बढि प्रभावित भएका छन् उनीहरुका लागि बहुप्रतिक्षीत सुचना थियो । सुचना सार्वजनिक भएपछि कोभिड १९ का कारण रोजागर गुमेर बसेका, अरुले राहत दिएर बाँचेका,े काम र बस्ने ठाउँ समेत गुमाएर सेल्टर हाउसमा बसेकाहरुका एउटा उमङ्ग छाउनु पर्ने तर त्यसो हुन सकेन । किनकी त्यो सुचना उनीहरुका लागि आएन ।
आयो त एयरलाइन्सका टिकट बेच्नेहरुका लागिमा आयो। एयरलायन्स सञ्चालकहरुको उद्धारका लागि । लक डाउनले गर्दा अहिले ट्राभल एजेन्सी बन्द छन् । किनकी कुनै पनि हवाई जहाज उडेका छैनन् । यसरी भुइँमै बसेका जहाजलाई सरकाले उडाउन दिने भयो । चार्टर्ड मार्फत । त्यसका लागि ट्राभल एजेन्सिमा टिकट काट्नु पर्यो । यसो गर्दा लक डाउनले थलिएका ट्राभल एजेन्सि र एयसलायन्सलाई राहत मिल्यो । किनकी उनीहरुले लक डाउन भन्दा अघिको मुल्य भन्दा ४ गुणा बढी पैसा बराबरमा टिकट बेच्न र उडान भर्न पाउने भए । मलेसिया स्थित नेपाली दुतावासले जारी गरेको सुचनामा उडान भर्ने मिती तय गरिएको छ । यहि महिनाको अर्थात जुन १५, १८, २० र २१ तारिखका लागि उडान तालिका सार्वजनिक गरेको छ । अझ प्रष्ट के भनिएको छ भने ततत् मितीको टिकट खरिद नगर्ने हो भने अर्को प्रथमिकताकाहरुलाई टिकट खरिद गर्ने भनिएको छ । यसरी धम्कीपूणर् शैलिमा लेखिएको त्यो सुचनाबाट त्यहाँ रोजगार गुमेर उद्धारको पर्खाइमा बसेका नेपालीहरुको मन पोलेको छ । सरकार र दुतावास प्रति उनीहरुको आक्रोस बढ्दो छ । किनकी उनीहरुले नेपालबाट मलसिया जाँदा जति खर्च गरेर गएका थिए अहिले फर्कने बेलामा पनि करिव करिव उती नै रकम तिरेर फर्कनु पर्ने भएको छ । राजदुतासावले जारी गरेको सुचनामा मलेसिया देखि नेपालको चार्टर्ड उडानको टिकट दर हवाई सेवा प्रदायकद्धारा अमेरिकी डलर ५ सय २० वा लगवग मलेसियान रिङ्गिट २ हजार २ सय तोकिएको छ । यो शुल्क भनेको बिहिबारको बिनियमय दर(आर एम १ बराबर रु २९.३९) अनुसार ६५ हजार २ सय ४५ रुपैँया ८० पैसा हुन आउँछ । त्यसै गरि मलाइ कोरोना लागेको छैन भनेर स्वाव परिक्षणको रिपोर्ट पनि श्रमिक आफैले ल्याउनु पर्ने छ ।
कोरोना टेस्ट गर्ने टिकट काट्ने पैसा भएकाले त गर्लान तर नभएका जो राहत थापेर जिविकोपार्जन गरिरहेका छन् उनीहरुको उद्धार कसरी भयो ? नेपालमा काम नपाए, रोजगार अवसर नभेटेर सस्तो मुल्यमा श्रम गर्न आफै खर्च गरेर पराया भूमि पुगेका नेपालीहरु अहिले अप्ठयारोमा पर्दा फेरि आफ्नै खर्च तिरेर फर्कनु पर्ने भएको छ । कतिपयले त यतिका शुल्क तिरेर जान नसक्ने बरु यतै देश त्याग गर्ने भन्दै सामाजिक सञ्जालमा लेखेका समेत छन् । यसरी सरकारको निणर्य र रोजगारदाता कम्पनीसँग टिकट खरिदका लागि दुतावासले पहल गर्न नसक्दा कयौ श्रमिकहरुको उद्धार हुन नसक्ने निश्तित छ । र उनीहरुमा विभिन्न प्रकारका समस्या नदेखिएलान भन्न सकिन्न । जसले निम्ताउन सक्ने घटना र परिस्थितीको नजरअन्दाज सरकारले गरे भन्दा फरक भयो भने त्यसको जफावदेहि को हुने ? अर्को प्रश्न तेर्सिएको छ ।



















