आइसोलेशनमा भर्ना भएका बिरामीको मृत्यु

कोरोना हो या होइन भन्ने प्रष्ट हुन बाँकी

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालस्थित आइसोलेशनमा भर्ना गरिएका ३४ वर्षीय युवकको मृत्यु भएको छ । ती युवकमा कोरोना संक्रमण भए /नभएको प्रष्ट भइसकेको छैन । अस्पताल स्रोतका अनुसार कोरोना सङ्क्रमण परीक्षणका लागि आइतबार नै उनको स्वाबको नमूना संकलन गरी केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले परीक्षणको रिपोर्ट नआइसकेकाले ती युवकको मृत्युको कारण के हो भन्ने पुष्टि गर्न नसकिने बताउनुभयो । वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेर यही चैत ६ गते स्वदेश फर्किएका युवकको मृत्यु भएको बताइएको छ । घर फर्किंदाकोे अवस्थामा नै सामान्य ज्वरो आएकाले एक हप्तासम्म घरमै आराम गरी बसेका युवक एक हप्तासम्म पनि ज्वरो नरोकिएपछि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँचका लागि आएको अस्पताल स्रोतले बतायो । स्वाबको रिपोर्ट नआउँदासम्म मृतकको परिवारलाई समेत क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिने डा खनालले जानकारी दिनुभयो ।