हेलिकोप्टरबाट सुत्केरी महिलाको उद्धार

खोटाङ । शल्यक्रियापछि रक्तश्राव र उच्च रक्तचापका कारण सिकिस्त बनेकी एकजना सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाकी २६ वर्षीया एलिना कार्की (श्रेष्ठ) लाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

शनिबार बेलुका जिल्ला अस्पताल खोटाङमा शल्यक्रिया गरिएकी श्रेष्ठलाई आईतबार थप उपचारको लागि काठमाडौं रेफर गरिएको जिल्ला अस्पताल खोटाङका निमित्त कार्यालय प्रमुख रोशन ग्वाछाले जानकारी दिए । विरामीको अवस्था नाजुक भएपछि जिल्ला स्वास्थ कार्यालय र जिल्ला प्रशासन कार्यालयको अनुरोधमा राष्ट्रपति महिला उत्थान कार्यक्रमको हेलिकोप्टर बोलाएर श्रेष्ठको निःशुल्क उद्धार गरिएको प्रमुख ग्वाछाले बताए ।

वर्थिङ सेन्टर भएको ठाँउ वा प्रसूति केन्द्र भएका ठाउँमा सुत्केरी गराउँदा सुत्केरीको अवस्था खतरामा छ भन्ने सूचना आएको खण्डमा जिल्ला स्वास्थ्य कार्यालयले जिल्ला प्रशासन कार्यालय र महिला तथा वालवालिका मन्त्रालयलाई खवर गर्छौ त्यसपछि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा खवर गरेपछि हेलिकोप्टर ल्याउन सकिने जिल्ला स्वास्थ्य कार्यालयकी पव्लिक हेल्थ नर्स उर्मिला राईले जानकारी दिईन् । सुत्केरी श्रेष्ठलााई प्रसूतिगृह थापाथलीमा भर्ना गरिएको उनका दाजु प्रविण कार्कीले जानकारी दिए । उनले भने, ‘अस्पताल र प्रशासनको सिफारिसमा निशुल्क हेलिकोप्टरमार्फत उद्धार गरेर वहिनीको ज्यान जोगियो, बच्चाको अवस्था भने राम्रो छ ।’

चालू आर्थिक वर्षमा जिल्लाबाट श्रेष्ठसहित हलेसी तुवाचुङ नगरपालिका—३ च्यास्मीटारकी २३ वर्षीय रविता विक र खोटेहाङ गाउँपालिका –३ सावाकटहरेकी विममाया विकको राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत हलिकोप्टरबाट उद्धार गरिएको छ ।