रौतहट । अत्याधिक चिसो बढेपछि रौतहट प्रहरीले सार्वजनिक स्थानमा आगो बाल्ने अभियान सुरु गरेको छ । प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबारदेखि जिल्लाका विभिन्न स्थानहरुमा दाउरा बालेर स्थानीयलाई आगो ताप्ने व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।
उनले चिसो बढेका कारण स्थानीयहरुलाई चिसोकै कारणले समस्या परेकाले प्रहरीले जिल्ला प्रशासन कार्यालय रौतहट गौर, वन कार्यालय चन्द्रपुर र स्थानिय निकायसँग समन्वय दाउरा बाली आगो ताप्ने व्यवस्था मिलाएकोले बताए । जिल्ला प्रहरी कार्यालयले आफ्ना मातहत प्रहरी कार्यालयहरुलाई निर्देशन दिएर स्थानियलाई शितलहरको कारण चिसोबाट बच्नको लागी विभिन्न सार्वजनिक स्थानमा आगो बाल्न भनेको छ । जिल्ला प्रहरी कार्यालय मातहत विभिन्न प्रहरी इकाइहरुले जिल्लाका ४१ स्थानहरुमा आगो ताप्ने व्यवस्था मिलाइएको कार्कीको भनाइ छ ।
यसैगरी जिल्लाको उत्तरी भेगमा रहेका इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले स्थानियहरुलाई आगो ताप्ने व्यवस्था मिलाएको छ । सो कार्यालयले आफ्नो मातहत विभिन्न मातहतका चपुर मोन चोक, बालचनपुर, डुमरिया चोक , बागमती चोक, जयराजपुर,सिमराभवानिपुर गाउँ, चेतनगर विर्ता गाउँ, मनहर्वा गाउँ , चन्द्रपुर नगरपालिकाका १० वटै वडा कार्यालय अगाडि, चौधरी टोल , बेतौना चोक , राईटोल, धारा टोल, जुडिवेला चोक, चपुर तल्लो बजार लगायतका स्थानहरुमा आगो बालेर स्थानियवासीहलाई ताप्ने व्यवस्था गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक कवित कटुवालले जानकारी दिए । उनले लगातारको शितलहरी र चिसोको कारणले जनजीवन प्रभावित हुन थालेपछि स्थानियलाई राहत दिनकै लागि आगो बाल्ने अभियान सुरु गरिएको बताए । ‘ प्रहरी अहिले सार्वजनिक चोक , मानिसहरुको जमघट हुने स्थानहरुमा आगो बाल्दै आएको छ ’ उनले भने , चिसो कम नहुन्जेलसम यसलाई निरन्तरता दिने हाम्रो लक्ष्य छ । यसका लागि हामी जिल्ला वन कार्यालयसँग पनि सम्न्वयन गरिरहेका छौँ ।’
जिल्लाभर गत पुष १ गतेदेखि घाम लागेको छैन् । लगातारको चिसो र शितलहरीका कारण स्थानियको जनजीवन नराम्री प्रभावित बन्न पुगेको छ । चिसोका कारण वृद्धवृद्धा, बालबालिका र बिरामीहरुलाई बढी समस्या भएको छ । अस्पतालहरुमा चिसोका कारण बिरामीहरुको चाप पनि बढिरहेको छ । अस्पतालहरुमा चिसोको कारण रुघाखोकी, कोल्ड डाइरिया, निमोनिया, दम लगायतका बिरामीहरु आउने गरेको चन्द्रनिगाहपुर अस्पताल प्रालिका डाक्टर सुवास चौधरीले जानकारी दिए । यहाँको न्युनतम तापक्रम ९ डिग्री सेल्सियससम्म पुगेको छ । चिसो र शितलहरीको कारण विपन्न परिवारहरु निकै समस्यामा परेका छन् । न्यानो कपडा र ओड्ने ओछ्याउने नहुँदा उनीहरु बिरामी पर्न लागेका थालेका छन् । चिसोका कारण मानिसहरु अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कदा व्यापार व्यवसायमा कमि आएको स्थानिय व्यापारीहरुको गुनासो छ । यहाँ बिहानैदेखि लाग्ने बाक्लो हुस्सुले पनि जनजीवन अझ कष्टकर बन्ने गरेको छ ।




















