लामोसाँगु–जिरी सडक ठेक्का खारेजीको तयारी

काठमाडौं । स्तरोन्नतिका क्रममा तीन वर्षदेखि अलपत्र रहेको लामोसाँघु जिरी सडक आयोजनाको ठेकेदारलाई तीन दिनभित्र आयोजना क्षेत्रमा उपस्थित हुन सरकारले निर्देशन दिएको छ । लामोसाँघु जिरी सडक आयोजनाले सार्वजनिक सूचना प्रकाशन गर्दै ठेक्काको शर्तअनुसार काम नभए सम्झौता रद्द गर्ने चेतावनीसमेत दिएको छ ।

आयोजनाले वर्षातको समयमा सवारी आवागमनका लागि आवश्यक प्रबन्धको दायित्व ठेकेदारसँग भए पनि जिम्मेवारी पूरा नगरेको सूचनामा उल्लेख छ । आयोजनाबाट वर्षातको समयका लागि आवश्यक स्रोत साधनको व्यवस्थापनका लागि पटकपटक अनुरोध गर्दासमेत वेवास्ता गरेकोले सवारी आवागमनको सहजताका लागि तीनदिने वैकल्पिक व्यवस्था गर्न आयोजना बाध्य भएको सूचनामा उल्लेख छ ।

तीनदिनभित्र काम सुरु नगरेमा सम्बन्धित ठेकेदार कम्पनीको साइटमा रहेको निर्माण सामाग्री प्रयोग गरी अपुग भएमा कम्पनीबाटै असुलउपर गर्ने गरी सडक मर्मत गर्नुका साथै सम्झौता (जिसिसी १५), सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम ठेक्का सम्झौता तोडी कार्य सम्पादन जमानत तथा धरौटी रकम जफत गर्नुका साथै प्रचलित काननुअनुसार कारवाही अघि बढाउने चेतावनी दिएको छ । 

स्तरोन्नती कार्यमा जिरो किलोदेखि २५ किलोमिटरसम्म सीमाञ्चल–गौरीपार्वती–सुनौला खिम्ती जेभीले जिम्मेवारी पाएको थियो भने २५ किलोटिमरदेखि ५५ किलोमिटरसम्म शकिल हेदर–शंकरमाली–सुनौला खिम्ती जेभीले ठेक्का पाएको थियो । आयोजनाले तीन दिनभित्र तोकिएको सर्तअनुसार काम नभएमा सम्झौता तोडी जमानत तथा धरौटी रकम जफत गर्ने जनाएको छ ।