छाया सेन्टरको विवाद चुलिँदै

काठमाडौं । सञ्चालनमा आएको केही महिना पनि नबित्दै ठमेलस्थित छाया सेन्टर विवादमा मुछिएको छ । उक्त सेन्टरले अर्बौं लगानीमा निर्माण भएको सेन्टरमाथि नियोजितरूपमा आक्रमण हुन थालेको गुनासो गरेको छ । तीन दर्जनबढी स्वदेशी लगानीकर्ताको साढे पाँच अर्ब बढी लगानीमा सेन्टर निर्माण सम्पन्न भई गत डिसेम्बर २५ देखि औपचारिकरूपमा सञ्चालनमा आएको थियो । सञ्चालनमा आएसँगै सेन्टर विवादमा परेको हो ।

सेन्टरले गुठी जग्गा र पोखरी कव्जा गरी संरचना निर्माण गरेर ठमेलको धार्मिक, सांस्कृतिक सम्पदालाई नै ध्वस्त पारेको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका छन् । तर सेन्टरले भने ठूलो लगानीमा सञ्चालनमा आएकै कारण छाया सेन्टरलाई स्वार्थका साथ नकरात्मक प्रचारको उत्कर्षमा पु¥याउन खोजिएको दाबी गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा छाया सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठले ठमेलभित्रको ठमेलका रूपमा आएको ठूलो योजनामा केही व्यक्तिको स्वार्थले अहिले गलत प्रचारलाई तीव्र पारिएको आरोप लगाए । आयोजना निर्माणपछि स्वार्थका साथ सीमित समूहले लगानीकर्तालाई आतंकित पार्न खोजेको उनको भनाइ थियो ।

सरकारी निकायबाट पूरा गर्नुपर्ने सबै प्रक्रिया सकेर निर्माण गरिएको छाया सेन्टरलाई एकाएक आक्रमण गर्न खोजिनु आश्चर्यजनक रहेको उनले बताए । श्रेष्ठले भने, ‘जग्गा किनेको ६ वर्षपछि कम्प्लेक्स निर्माणअघि अहिले हल्ला गर्नेहरू किन मौन बसे ? हामीले २ वर्ष लगाएर वातावरणीय प्रभाव मूल्यांकन तथा सार्वजनिक सुनुवाइ गरेर छिमेकी तथा साँधसँधियारसँग सम्झौता गरी निर्माण सुरु गरेका थियौं ।’

श्रेष्ठका अनुरा काठमाडौं महानगरपालिका वडा नम्बर २९ मा रहेका कित्ता नम्बर १६१८ को ९ रोपनी १३ आना २ पैसा २ दाम, कित्ता नम्बर १०४० को ९ आना २ पैसा ३ दाम, कित्ता नम्बर १६१६ को २ रोपनी १० आना र कित्ता नम्बर १६१७ को ६ आना जग्गा सिंह सार्थ गरुड भगवान बहाल गुठीबाट विभिन्न व्यक्ति हुँदै अम्बिका राणाको नाममा नामसारी रैतानी दर्ता भएको हो ।

साविकको कित्ता नम्बर १६७ को २६ रोपनी ८ आना जग्गामध्ये उल्लेखित जग्गाहरू अम्बिका राणाको नाममा मोही दर्ता भई भोग तिरो रहेको हो । उक्त जग्गा केशर शमशेरको नाममा मोही जनाइएको छ । केशर शमशेरले उक्त जग्गामा पर्खाल लगाएर आफ्नो परिसरभित्र पारेका थिए । तर उक्त विषयलाई गुठीको जग्गा भनी काठमाडौं जिल्ला अदालतमा फिराद परेकोे र पछि २०३० वैशाख २५ गते काठमाडौं जिल्ला अदालतले उक्त फिराद खारेज गर्ने फैसला गरेको थियो ।

फिराद खारेजीको उक्त फैसलामा पुनरावेदन परेपछि २०३१ असोज २५ गते जिल्ला अदालतले पहिलेकै फैसलालाई सदर गर्दै पुनरावेदनको अनुमति पाएर सर्वोच्च अदालतमा २०३३ पुस ३ गते केयुर शमशेर मोही भई भोगचलन गरी खान पाउने गरी भगवान गुठीका तर्फबाट सबै दाबी छाडेर मिलापत्र भएको थियो । गुठी संस्थान ऐन २०३३ को दफा ३६ ले तोकेको दस्तुर बुझापछि २०४७ माघ १८ का दिन गुठी लगत तथा तहशील कार्यालयबाट रैतानी नम्बरी कायम भएको उनको दाबी छ ।