कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्याकाण्डको ६ महिना पूरा भएको छ । गत साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी उनी फर्किने क्रममा बेपत्ता भएकी थिइन् । उनकोे ११ गते बलात्कार पछि हत्या गरिएको अवस्थामा नजिकैको उखुबारीमा शव फेला परेको थियो ।
सून्य उपलब्धी
निर्मलाको हत्याकाण्डको छ महिना पुरा हुँदा समेत अहिलेसम्म दोषिको पहिचान हुन सकेको छैन् । घटनाको आधादर्जन बढी टोलीले अनुसन्धान गरिसकेका छन् । यसैक्रममा, एसपि दुर्गा सिंह नेतृत्वको टोली अनुसन्धान गरेर काठमाण्डौ फर्किसकेको छ भने सिआइबिका ३ जिल्ला नेतृत्व परिवर्तन भएका छन् ।तर, छ महिनासम्म उपलब्धी भने शुन्य छ ।
अनुसन्धान डिएनएमा केन्द्रित
पछिल्लो समय प्रहरीको अनुसन्धान डिएनएमा केन्द्रीत भएको छ । अनुसन्धानका लागि अन्य कुनै प्रमाण फेला पार्न नसकेको प्रहरीले डिएनएलाई नै अनुसन्धानको पहिलो सुत्र बनाएको छ । शंकास्पद गतिविधि देखिएको भन्दै हालसम्म झण्डै एक सय जनाको डिएनए परीक्षण भइसकेको छ ।
छिमेकी रुष्ट
प्रहरीले निर्मलाकै छिमेकबाट स्थानीयको डिएनए परीक्षण गर्न थालेपछि पीडित परिवार थप पिडामा परेका छन् । अपराधि छिमेकमै रहेको भन्दै प्रहरीले स्थानीयको डिएनए लिन थालेपछि छिमेकी निर्मलाकी आमासँग आक्रोशित भएका छन् । उनीहरुले आफूमाथी शंका गरेको भन्दै निर्मलाकी आमासँग विवाद गर्न थालेका छन् ।
घटनाको सुरुवात देखि नै सहयोग गरेका स्थानीयको डिएनए परीक्षण हुन थालेपछि छिमेकी आमासँग आक्रोशित भएको निर्मलाकी दिदी मनिषा पन्तले बताइन् ।
‘प्रहरी उजुरीको बयान लेख्न आएका थिए’, उनले भनिन् ‘प्रहरी गएपछि ठूलो बुवा आएर हामीले सुरुदेखि नै सहयोग गरेका थियौ । डिएनएका लागि किन मेरो छोराको नाम दिएको भन्दै मम्मीसँग झगडा गर्नुभयो ।’
उनले छिमेकबाटै डिएनए लिन थालेपछि सम्बन्ध बिग्रिदै गएको बताइन् ।
यता, छिमेकीहरुले भने दुर्गादेविले नाम दिएकाले प्रहरीले आफूहरुको डिएनए लिएको आरोप लगाउदै आएका छन् ।
‘एक्लै बेसेकी महिला भनेर हामीले सुरुदेखि नै सहयोग गर्यौ’, नाम नबताउने शर्तमा एकजना छिमेकीले भने ‘अहिले हाम्रै छोरा नानीको डिएनए लिन पठाएपछि यिनलाई छिमेकीबाटै डर भएको छ ।’
प्रहरी विरुद्ध कारवाहि भएन
उता, अनुसन्धानमा लापरवाहि गरेको भन्दै दुर्गादेवि पन्तले एसपि डिल्लीराज विष्ट सहित ८ जना प्रहरी विरुद्ध उजुरी दिएको एक महिना बितिसकेको छ ।
यस्तै, आफ्नो भाइलाई शारीरिक र मानसिक याता दिइएको भन्दै दिलिपसिंह विष्टका दाजु खडकसिंहले समेत एक महिना अगाडि तत्कालिन एसपि सहित चार जना प्रहरी विरुद्ध उजुरी दिएका थिए ।
उजुरी दिएका मध्ये २ जना यसअघि नै बर्खास्त भइसकेपनि अन्य प्रहरीलाई भने कुनै कारवाहि भएको छैन ।
दोषि प्रहरीलाई उन्मुक्ति दिनका लागि एक महिनासम्म कानुनी कारवाहि अगाडि नबढाएको दिलिपका दाजु खडक सिंह विष्टले आरोप लगाए ।
उनले प्रहरी विरुद्धको मुद्दा भएकाले कारवाहिका लागि ढिलाई भइरहेको गुनासो पोखे ।
यता, पहिलो मुद्दा भएकाले प्रक्रिया बुझेर अनुसन्धान अगाडी बढाउन समय लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उजुरी दिएका व्यक्तिलाई फरार रहेकाले तीन पुस्ते मागेर पत्राचार गर्ने लगायतका काम भइरहेको कञ्चनपुरका प्रहरी प्रमुख एपि कुबेर कडायतले बताए ।
‘प्रहरी विरुद्ध उजुरी दिएकाले तिनीहरु अहिले कहाँ छन् ? पहिले त कहाँ छन् भनेर खोज्नुपर्छ होला नि?’, उनले प्रश्न गर्दै भने ‘हामीले हेडक्वाटरबाट तीन पुस्ते माग गर्ने र सम्बन्धीत ठेगानामा पत्राचार गर्ने काम गरिरहेका छौ ।’
उनले तीन महिनाभित्र सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेश गर्नुपर्ने बताउदै अनुसन्धानका अन्य पाटोलाई समेत अगाडि बढाइएको बताए ।
‘हामी अनुसन्धानको प्रक्रियामै छौ । हामीसँग तीन महिनाको समय छ’, उनले भने ‘तीन महिना भित्र प्रतिवेदन तयार पारेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेश गर्नुपर्छ । त्यसपछि मुद्दा अगाडी बढ्ने न बढ्ने थाहा हुन्छ ।’
यद्यपी, प्रतिवेदन पेश भएपछि पनि मुद्दा अगाडि बढ्ने नबढ्ने बारे बताउन नसकिने उनले भनाइ छ ।



















