काठमाडौं । सरकारले वैदेशिक रोजगार व्यवसायीहरूसँग मलेसियाबाट ‘कलिङ भिसा’ आइसकेका कामदारको विवरण माग गरेको छ । वैदेशिक रोजगार विभागले सोमबार सूचना जारी गर्दै कलिङ भिसा प्राप्त गरेर पनि मलेसिया जानबाट वञ्चित कामदारको विवरण १५ दिनभित्र पेस गर्न निर्देशन दिएको छ ।
व्यवसायीले ९ हजारभन्दा बढी कामदारको कलिङ भिसा आएको दाबी गर्दै सरकारले थालेको नयाँ प्रक्रियाका कारण ती कामदारलाई मलेसिया पठाउन नपाएको गुनासो गर्दै आएका थिए । जेठ २ गतेअघि नै कलिङ भिसा आएका कामदारलाई मलेसिया जान दिनुपर्ने वैदेशिक रोजगार व्यवसायीको माग थियो । सरकारले वैदेशिक रोजगार व्यवसायीको दाबी शंकास्पद लागेका कारण सबैको विवरण मागिएको स्रोतले जनाएको छ ।
नेपाल र मलेसियाबीच गत कात्तिक १२ गते श्रम सम्झौता भएको थियो । सम्झौताअनुसार नेपाली कामदार मलेसियामा शून्य लागतमा जान पाउनेछन् तर सो प्रक्रियाअनुसार कामदार पठाउने प्रक्रियाको विषयमा अझै टुंगो लागेको छैन ।
सरकारले कलिङ भिसा आइसकेका कामदारलाई मलेसिया जान व्यक्तिगततर्फको अन्तिम श्रम स्वीकृति खुलाएको छ तर त्यसका लागि दूतावासमार्फत प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । दूतावासबाट भिसा प्रक्रिया आफैंले पूरा गर्ने प्रतिबद्धतासहित लिखित अनुरोध आएमा यस्ता कामदारको हकमा श्रम स्वीकृति जारी गरिने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जाएको छ । व्यवसायीहरू भने दूतावासमार्फत सीधै भिसा प्रक्रियाका लागि मलेसियाले हालसम्म कुनै संयन्त्र नबनाएको दाबी गर्दै आएका छन् ।
मन्त्रालयले मलेसियासँग कलिङ भिसा आइसकेका कामदारलाई तत्काल मलेसिया पठाउने समझदारी गरेको थियो । यद्यपि भिएलएन र वानस्टप सेन्टरबारे अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सोही संस्थामार्फत भिसा प्रक्रिया पूरा गरेर कामदार पठाउन नसकिने श्रममन्त्री गोकर्ण विष्टको अडानका कारण प्रक्रिया अवरुद्ध बनेको थियो । सरकारको पछिल्लो निर्णयले भिएलएनबाटै भिसा प्राप्त गरी व्यक्तिगततर्फबाट मलेसिया जाने कामदारलाई छुट दिए पनि सोही प्रक्रियाबाट भिसा लिएका संस्थागततर्फका कामदारलाई रोक्न अनुचित भएको व्यवसायीहरूको भनाइ छ ।
सरकारले कामदार ठगी गर्ने बिचौलिया संयन्त्रका रूपमा रहेको ‘भिएलएन’ लाई कारबाही गरे पनि व्यवसायीहरू सोही संयन्त्रमार्फत भिसा प्रक्रिया पूरा गर्नुपर्ने नियम रहेको बताउँदै आएका छन् । सरकारले संस्थागततर्फ कति कामदार अन्तिम श्रम स्वीकृतिको पर्खाइमा छन् भन्ने विवरण अध्ययन गर्न लागेको हो ।



















