सम्पत्ति शुद्धीकरणको गम्भीर कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट पक्राउ।

काठमाडौं := सम्पत्ति शुद्धीकरणको गम्भीर कसुरमा विवादास्पद व्यवसायी दीपक भट्टलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बिहीबार पक्राउ गरेको छ। नक्सालस्थित सिआइबी कार्यालयमा आफैँ उपस्थित भएका भट्टलाई पक्राउ पुर्जी दिइएको सिआइबीका एआइजी मनोज केसीले पुष्टि गर्नुभयो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारका आधारमा प्रहरीले यो कदम चालेको हो । सिआइबीले बोलाएपछि भट्ट बिहीबार अपराह्न आफैँ कार्यालय पुगेका थिए, जहाँ उनलाई औपचारिक रूपमा पक्राउ गरियो ।

भट्टको पक्राउभन्दा केही दिनअघि मात्रै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको पासपोर्ट रोक्का राख्न अध्यागमन विभागलाई पत्र पठाएको थियो । विभागले चैत १५ गतेको मिति राखेर पठाएको पत्रका आधारमा अध्यागमन विभागले भट्टलाई कालोसूचीमा समावेश गर्दै विदेश यात्रामा प्रतिबन्ध लगाएको थियो ।

‘भट्ट भाग्ने सम्भावना देखेर कालोसूचीमा राखिएको हो । अब विदेश जानुपरेमा उनले सरकारको पूर्वस्वीकृति लिनुपर्ने हुन्छ’, अध्यागमन विभागका एक अधिकारीले भन्नुभयो ।

अनुसन्धान विभाग स्रोतका अनुसार अहिलेसम्मको छानविनमा तीनवटा कम्पनीसँग जोडिएको कुल ६ अर्ब रुपैयाँ बराबरको कारोबारमा भट्टको संलग्नता देखिएको छ । यसमध्ये हिमालयन रिइन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्सको हकप्रद सेयर र काठमाडौंस्थित हिल्टन होटलसँग जोडिएको कारोबार प्रमुख रहेको स्रोतले जानकारी दियो ।

‘यसमध्ये पाँच अर्ब रुपैयाँ एउटै पुनर्बीमा कम्पनीसँग सम्बन्धित छ’, स्रोतले भन्यो, ‘सुरक्षा निकायसँग जोडिएका ठेक्का र सेयर बजारसँग सम्बन्धित थप शंकास्पद कारोबारमाथि अझै अनुसन्धान जारी छ । केही साताभित्रै मुद्दा अदालतमा पेस गर्ने तयारी छ ।’