काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ।

काठमाडौं := प्रहरीले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई पक्राउ गरेको छ। जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको सिफारिसका आधारमा उनलाई आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

गत २३ र २४ भदौमा ठूलो मानवीय क्षति हुने गरी भएको विद्रोहका बेला रिजाल जिल्ला प्रशासन कार्यालय काठमाडौंको नेतृत्वमा थिए । यस प्रकरणमा प्रहरीले यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो । उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

गत शुक्रबार बसेको नवगठित मन्त्रिपरिषद्‌को बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उक्त आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार अनुसन्धान अगाडि बढाएको प्रहरीले रिजाललाई पक्राउ गरेको हो ।

रिजालमाथि अनुसन्धान गर्न आयोगले सिफारिस गरेको छ। अख्तियारले विशेष अदालतमा पठाएको विवरणमा गृहमन्त्रालयका तत्कालीन प्रशासन महाशाखा प्रमुख रिजालमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको उल्लेख छ ।

तत्कालीन गृहमन्त्री रमेश लेखकका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्टसँगको सेटिङ, गृहसचिव गोकर्णमणि दुवाडी एवं अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईसँगको अस्वभाविक गतिविधि र डायरीलगायतका विवरणमा नाम उल्लेख भएकाहरूमाथि अनुसन्धान भइरहेको जनाएको छ ।