काठमाडौं := रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बन्नका लागि बाटो औपचारिक खुला भएको छ । रास्वपा केन्द्रीय समिति बैठकले शाहलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ। रास्वपाले संसदीय दलको नेतामा बालेन शाहलाई सर्वसम्मत चयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत दलको नेता चयन गरिएको हो । दलको बैठकमा सभापति लामिछानेले बालेनलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । उनले सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका थिए ।संविधानको धारा ७६ मा मन्त्रिपरिषद् गठन सम्बन्धी व्यवस्था रहेको छ ।
धारा ७६(१) मा भनिएको छ–राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुनेछ ।” बालेनले प्रधानमन्त्रीको रुपमा शुक्रबार अपराह्न शपथ ग्रहण गर्नेछन् । शाहले वैदिक–सनातन परम्पराअनुसार प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने र लगत्तै प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहण गर्ने तयारी छ ।
रास्वपाका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार ‘पार्टीकाे तर्फबाट आगामी सरकार गठन गर्नकाे लागि वरिष्ठ नेता बालेनलाई राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्रीकाे उम्मेदवारकाे रूपमा प्रस्ताव गर्नुभयाे । जुन प्रस्ताव दलकाे बैठकबाट पारित भएकाे छ’, झाले भने ।




















