तेहरान:= मध्यपूर्वमा चर्किएको युद्धले अब विश्व फुटबलको महाकुम्भसम्म असर पार्ने संकेत देखिएको छ । युद्धले अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकपमा इरानको सहभागिता नै अन्योलमा परेको हो ।
अमेरिका र इजरायलले इरानमाथि संयुक्त हवाई हमला गरेपछि तेहरानबाट आएको संकेतले विश्वकप खेल्ने सम्भावना कमजोर बन्दै गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । इरान फुटबल महासंघ (एफएफआइआरआई)का अध्यक्ष मेहदी ताजले स्थानीय सञ्चार माध्यमसँग कुरा गर्दै द्वन्द्वपछि इरानले विश्वकप खेल्ने अपेक्षा न्यून रहेको बताउनुभयो ।
उहाँले तत्काल निर्णयको अवस्था नरहेको र केही समयपछि उच्चस्तरीय छलफलपछि औपचारिक निर्णय गरिने स्पष्ट पार्नुभयो । फिफाका महासचिव म्याटिस ग्राफस्ट्रोमले परिस्थितिमाथि नजिकबाट निगरानी गरिरहेको बताउनुभयो । द्वन्द्व र त्यसले निम्त्याएको अवस्थाबारे आयोजक राष्ट्रसँग निरन्तर संवाद भइरहेको उहाँको भनाइ छ ।
इएसपिएनले पनि फिफाले घटनाक्रमको अध्ययन गरिरहेको जनाएको छ, तर तत्काल टिप्पणी गर्न उपयुक्त अवस्था नरहेको बताइएको छ । विश्वकप इतिहासमा कुनै पनि राष्ट्रले स्वेच्छाले नाम फिर्ता लिएको उदाहरण छैन । तर, फिफाले राष्ट्रमाथि प्रतिबन्ध लगाएका घटनाहरू भने छन् । सन् २०२२ मा रुसलाई फिफाले युक्रेनसँगको युद्धका कारण प्रतिबन्ध लगाएको थियो, जसका कारण रुसले विश्वकप प्लेअफ गुमाएको थियो ।
यदि इरानले नाम फिर्ता लिन्छ वा खेल्न नसक्ने अवस्था बन्छ भने एसियन फुटबल फेडेरेसनले अर्को एसियाली राष्ट्रलाई अवसर दिन सक्ने सम्भावना बलियो छ । हाल इरान समूह ‘जी’ मा परेको छ, जहाँ उससँगै बेल्जियम, इजिप्ट र न्युजिल्याण्ड छन् । तालिकाअनुसार इरानले जुन १५ मा न्युजिल्याण्डविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ, जुन २१ मा बेल्जियम र जुन २६ मा इजिप्टसँग प्रतिस्पर्धा गर्ने तय छ । यी सबै खेल अमेरिकाको पश्चिमी तटमा हुने तालिका छ ।
गत शनिबारदेखि इरान र अमेरिका-इजरायलबीच युद्ध जारी छ । आक्रमण र प्रतिआक्रमणको शृंखलाबीच मानवीय क्षति बढ्दो छ । ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सीका अनुसार, मंगलबार बिहानसम्म इरानमा ७४२ सर्वसाधारणको मृत्यु भइसकेको छ भने इजरायलमा १० जनाको ज्यान गएको रिपोर्ट सार्वजनिक भएको छ । एजेन्सी




















