क्वालालम्पुर (मलेसिया):= मलेसियामा अवैधानिक हैसियतमा बसोबास गरिरहेका पूर्णबहादुर तामाङ नेपाली राजदूतावास र पीएनसीसीको समन्वयमा स्वदेश फर्किएका छन्। उनी नेपाल एयरलाइन्सको उडानमार्फत २२ फेब्रुअरी, सोमबारका दिन फर्किएका हुन्।
धादिङका पूर्णबहादुर तामाङ वैदेशिक रोजगारीका सिलसिलामा सन् २००३ मा मलेसिया आएका थिए। तत्पश्चात् उनी घर-परिवारसँगको सम्पर्क विच्छेद गरेर बसोबास गरिरहेका थिए। पछिल्लो समय उनी क्षयरोगबाट पीडित छन्। क्षयरोग पीडित भएपछि उनले गर्दै आएका रोजगारी गुमाए र बसाइ अव्यवस्थित हुने अवस्था आयो। एकातिर क्षयरोगले पीडित अर्कोतिर अव्यवस्थित बसाइ हुने भएपछि अन्ततः यतिका वर्षपछि उनले स्वदेश फर्किने निर्णय गरे। र, सहयोगको याचना गर्दै पीएनसीसीको सम्पर्कमा आइपुगेका थिए।
पूर्ण बहादुर तामाङसँग पहिचान खुलाउने कागजपत्रको नाउँमा हस्तलिखित पासपोर्टको फोटोकपी मात्र साथमा थियो। घर-परिवारसँग पूर्णरूपमा सम्पर्क विच्छेद थियो। ट्राभल डकुमेन्टको लागि त्यतिमात्र कागजपत्र पर्याप्त नहुने भएकोले थप विवरण र आवश्यक कागजपत्रका लागि पिएनसिसि नेपालले उनको घर-परिवार पत्ता लगाउने देखि नागरिकताको फोटोकपी साथै जिल्ला प्रशासन कार्यालयबाट टिप्पणी उठाएर दूतावासमा पठाएको हो।
पूर्ण बहादुर तामाङको उद्धारमा नेपाली राजदूतावासले निःशुल्क ट्राभल डकुमेन्ट जारी गर्नुका साथै अध्यागमनमा गर्नुपर्ने प्रक्रियाका लागि सहयोग र सहजीकरण गरिदिएको हो। उडान सहजीकरणका लागि एनुअललिभ लगायत नेपाल फर्किने सम्पूर्ण प्रक्रियामा पिएनसिसि मलेसियाले सहयोग र समन्वय गरिदिएको हो।
त्यसैगरी रामेछापका मनोज सुनुवार र धनकुटाका चन्द्र बहादुर मगर पनि नेपाली राजदूतावास र पिएनसिसिको सहयोगमा स्वदेश फर्किएका छन्। दुवैजनालाई अध्यागमन प्रक्रियामा सहजीकरण गरेको दूतावासले चन्द्र बहादुर मगरका लागि निःशुल्क ट्राभल डकुमेन्ट उपलब्ध गराएको हो भने उनीहरूलाई स्वदेश फर्किने प्रक्रियामा पिएनसिसिले समन्वय गरेको हो।




















