आईसिसी टी-२० विश्वकप क्रिकेट : नेपाल इटलीसँग १० विकेटले पराजित।

काठमाडौं := आईसिसी टी-२० पुरुष विश्वकप २०२६ अन्तर्गत समूह ‘सि’ को दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा बिहीबार भएको खेलमा नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटलीले १२.४ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्दै ऐतिहासिक जित हात पारेको हो । टी-२० विश्वकप इतिहासमा नेपाल पहिलो पटक १० विकेटले पराजित भएको हो ।

इटलीका एन्थोनी मोस्का र जस्टिन मोस्काले अविजित शतकिय साझेदारी गर्दै टोलीलाई सहज जित दिलाउनुभयो । दुवैले पावर प्ले (पहिलो ६ ओभर) मै ६८ रन जोड्दै जितको आधार तयार पार्नुभएको थियो । ११औँ ओभरमा दुवैले अर्धशतक पूरा गर्नुभयो । सन्दीप लामिछानेले बलिङ गरेको उक्त ओभरमा जस्टिनले सिंगल लिएर अर्धशतक पूरा गर्नुभयो भने एन्थोनीले छक्का प्रहार गर्दै आफ्नो अर्धशतक बनाउनुभएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भयो । इटलीका स्पीनरहरूको कसिलो बलिङसामु नेपाली ब्याटरहरूले लय समात्न सकेनन् र पूरा २० ओभर खेल्न सकेनन्। नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाउनुभयो । कप्तान रोहित पौडेलले १४ बलमा दुई छक्कासहित २३ रन जोडनुभयो भने आसिफ शेखले २० रन बनाउनुभयो ।

करण केसीले अविजित १८ रनको केमियो इनिङ्स खेल्नुभयो। उपकप्तान दीपेन्द्र सिंह ऐरीले १७ रन बनाउनुभयो भने अन्य खेलाडीले उल्लेख्य योगदान दिन सकेनन्। ओपनर कुशल भुर्तेल पाँच रनमै आउट हुँदा नेपालको सुरुआत कमजोर बनेको थियो । त्यसपछि रोहित र आसिफले ४१ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गर्नुभएको थियो ।

तर, ४९ रनको स्कोरमा दुवै सेट ब्याटर आउट भएपछि नेपाल दबाबमा परेको थियो । दीपेन्द्र र आरिफले चौथो विकेटका लागि ४४ रनको साझेदारी गर्दै इनिङ्स अघि बढाए पनि निरन्तर विकेट झर्दा ठूलो स्कोर बनाउन सक्नुभएन । लोकेश बम तीन रनमै आउट हुनुभयो भने गुल्सन झा (तीन) र नन्दन यादव खाता नखोली आउट हुनुभयो । अन्त्यतिर करण केसी र सन्दीप लामिछानेले २१ रनको साझेदारी गरे पनि स्कोर प्रतिस्पर्धात्मक बन्न सकेन ।

इटलीका लेगस्पीनर क्रिसन कालुगमागेले चार ओभरमा १८ रन खर्चेर तीन विकेट लिनुभयो । अफब्रेक बलर बेन्जामिन मानेन्टीले चार ओभरमा मात्र नौ रन दिँदै दुई विकेट लिनुभयो। जेजे स्मट्सले एक विकेट लिनुभयो भने अली हसन र जसप्रित अलीले एक-एक विकेट लिनुभयो । समूह ‘सी’ मा नेपालको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेपाल दुई पटकको च्याम्पियन इंग्ल्याण्डसँग चार रनले पराजित भएको थियो ।

लगातार दुई हारसँगै अंकविहीन नेपालका लागि सुपर-८ चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ । नेपालले अब समूह चरणको तेस्रो खेलमा वेस्ट इन्डिजसँग फेब्रुअरी १५ मा प्रतिस्पर्धा गर्दैछ । यता, स्कटल्याण्डसँग पहिलो खेल गुमाएको इटलीले भने विश्वकपमा आफ्नो पहिलो जित दर्ता गरेको छ । यस संस्करणमा डेब्यु गरेको इटलीले दोस्रो खेलमै ऐतिहासिक सफलता हासिल गरेको हो । नियमित कप्तान वायन म्याडसन घाइते भएपछि ह्यारी मानेन्टीले इटलीको कप्तानी सम्हाल्नुभएको छ ।