रविको भन्दा बालेनको ‘क्रेज’ धेरै, रवि मुद्दा-मामिलामै अल्झिए।

काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) पश्चिम नेपाल पुग्नुभएको छ । एकसाता पूर्वी नेपालका केही जिल्ला घुमेर सोमबारदेखि उहाँ पश्चिम लाग्नुभएको हो । पूर्वबाट काठमाडौं आउनुभएका उहाँ संघीय राजधानीबाट चुनावी अभियानका क्रममा नेपालगञ्ज प्रस्थान गर्नुभएको हो । बालेन नेपालगञ्ज पुग्दा उहाँलाई स्वागत गर्न विमानस्थलमा मानिसहरूको भिड लागेको थियो । बालेन विमानस्थलबाट बाहिर निस्किएपछि ‘सन रुफ’ भएको गाडीमा चढ्नुभएको थियो । उहाँलाई हेर्न मानिसहरूको उल्लेख्य भिड लागेको थियो ।

बाँकेदेखि उहाँ पश्चिमका जिल्लामा पुग्ने कार्यक्रम छ । बालेन बर्दिया हुँदै कैलाली र अछामसम्म जाने योजना रहेको रास्वपाले जनाएको छ । सुदूरपश्चिमबाट बालेननिकट दुई व्यक्तिहरूले उम्मेदवारी दिएका छन् । उहाँका प्रमुख स्वकीय सचिव भूपदेव शाहले अछाम २ बाट र कोर टिमका सदस्य केपी खनाल कैलाली २ बाट उम्मेदवार बन्नुभएको छ । सुदूरमा केही दिन बिताएर बालेन काठमाडौं फिर्ता हुने रास्वपाले जनाएको छ । बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि बढाएको छ । एमालेले पनि ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेको छ ।

यसअघि, काठमाडौंबाट जनकपुर झर्दा पनि मानिसहरूको त्यस्तै भिड थियो । उहाँ जता पुग्नुभयो, त्यतै समर्थकहरूको भिड लाग्ने गरेको छ । काठमाडौं महानगरपालिका प्रमुखबाट राजीनामा दिएर उहाँले जनकपुरमा पहिलोपटक सभालाई सम्बोधन गर्नुभएको थियो । ५ माघमा जनकपुर गएर स्थानीय मैथिली भाषामा उहाँले पहिलो सार्वजनिक सम्बोधन गर्नुभएको थियो । त्यसअघि तीन वर्ष काठमाडौंको मेयर रहँदा उहाँले ठूलो सार्वजनिक सभालाई सम्बोधन गर्नुभएको थिएन ।

जनकपुरपछि झापा-५ मा गएर उम्मेदवारी मनोनयन दर्ता गर्नुभएका उहाँले पूर्वीपहाडी जिल्लाका कार्यकर्ता, उम्मेदवार, मतदातासँग प्रत्यक्ष भेट मात्र होइन, पाथीभरा मन्दिरको दर्शन पनि गर्नुभएको थियो । पूर्वमा रहँदा मोरङ-३ का रास्वपा उम्मेदवार गणेश कार्कीसँग पनि छलफल गर्नुभएको थियो । त्यसपछि उहाँ इलाम पुग्नुभएको थियो । इलामबाट पहाड उक्लिनुभएका पाँचथर, ताप्लेजुङसहित संखुवासभा र धनकुटासमेत पुग्नुभएको थियो । झापा-५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रिनुभएका साहले काठमाडौं फर्केर आइतबार बागमती प्रदेशभरका रास्वपा उम्मेदवारसँग सामूहिक छलफल गर्नुभएको थियो ।

मुद्दा-मामिलामै अल्झिए लामिछाने
रास्वपा वरिष्ठ नेता बालेन जता गयो उतै भिडभाड देखिइरहँदा सभापति रवि लामिछाने भने केही दिनयता सार्वजनिक कार्यक्रममा देखिनुभएको छैन । उम्मेदवार मनोनयन गर्ने दिन गत माघ ६ गते सार्वजनिक रूपमा देखिनुभएका उहाँ त्यसयता ठूला सार्वजनिक कार्यक्रममा नदेखिनुभएको हो । लामिछानेनिकट स्रोतका अनुसार सभापति लामिछाने अहिले आन्तरिक रणनीति बनाउने र आफूविरुद्धका मुद्दा-मामिलामै अल्झिनुभएको छ । व्यक्तिगत काममै अल्झिँदा अहिले चुनावी अभियानमा नदेखिनुभएको स्रोतको भनाइ छ । तर, केही दिनपछि सभापति लामिछाने पनि चुनावी अभियानमा खटिने स्रोतले बतायो ।

रास्वपा सभापति लामिछाने उम्मेदवार मनोनयकै दिन बैंक ग्यारेण्टी बुझाएर रिहा हुनुभएको थियो । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा पर्सा जिल्ला अदालतले लामिछानेसँग एक करोड धरौटी माग गरेको थियो । पर्सा हाजिर हुनुभएका लामिछाने मंगलबार नै अदालत उपस्थित भएपछि बयान र थुनछेक भएको थियो । न्यायाधीश रुद्र सुवेदीको इजलासले थुनछेक बहसपछि मंगलबार धरौटी माग गरेको थियो ।

मुद्दा-मामिलामै अल्झिए लामिछाने

रास्वपा वरिष्ठ नेता बालेन जता गयो उतै भिडभाड देखिइरहँदा सभापति रवि लामिछाने भने केही दिनयता सार्वजनिक कार्यक्रममा देखिनुभएको छैन । उम्मेदवार मनोनयन गर्ने दिन गत माघ ६ गते सार्वजनिक रूपमा देखिनुभएका उहाँ त्यसयता ठूला सार्वजनिक कार्यक्रममा नदेखिनुभएको हो । लामिछानेनिकट स्रोतका अनुसार सभापति लामिछाने अहिले आन्तरिक रणनीति बनाउने र आफूविरुद्धका मुद्दा-मामिलामै अल्झिनुभएको छ । व्यक्तिगत काममै अल्झिँदा अहिले चुनावी अभियानमा नदेखिनुभएको स्रोतको भनाइ छ । तर, केही दिनपछि सभापति लामिछाने पनि चुनावी अभियानमा खटिने स्रोतले बतायो ।

रास्वपा सभापति लामिछाने उम्मेदवार मनोनयकै दिन बैंक ग्यारेण्टी बुझाएर रिहा हुनुभएको थियो । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा पर्सा जिल्ला अदालतले लामिछानेसँग एक करोड धरौटी माग गरेको थियो । पर्सा हाजिर हुनुभएका लामिछाने मंगलबार नै अदालत उपस्थित भएपछि बयान र थुनछेक भएको थियो । न्यायाधीश रुद्र सुवेदीको इजलासले थुनछेक बहसपछि मंगलबार धरौटी माग गरेको थियो