काठमाडौं := दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि जाने कामदारको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ । सन् २०२६ का लागि लागू हुने न्यूनतम पारिश्रमिक गत वर्षको भन्दा दुई दशमलव नौ प्रतिशत वृद्धि गरेको हो ।
दक्षिण कोरियाले २०२६ मा त्यहाँ कार्यरत कामदारको न्यूनतम पारिश्रमिक प्रतिघण्टा १० हजार ३२० वन तोकेको जनाएको छ । न्यूनतम पारिश्रमिक वृद्धि भएसँगै हप्तामा ४० घण्टाको पारिश्रमिक करिब २१ लाख ५६ हजार ८८० वन हुनेछ । नेपाली रुपैयाँअनुसार यो रकम करिब दुई लाख १६ हजार रुपैयाँ हुनेछ । यसबाट त्यहाँ कार्यरत एक लाखबढी युवाले लाभ पाउनेछन् ।
यस्तै, नेपाली युवाको प्रमुख आकर्षक रोजगारी मुलुकको रूपमा रहेको दक्षिण कोरिया जान भाषा परीक्षा पास गरी इपिएसको रोष्टरमा प्रतीक्षासूचीमा रहेकाको रोजगारी सुनिश्चित गर्न रोजगारदाता मुलुकसँग कूटनीतिक पहल सुरु गरेको छ । दुई वर्षभन्दा बढी समय रोष्टरमा रहेकालाई रोजगारीमा जान नपाउने व्यवस्था विद्यमान रहेकाले सरकारले कोरियालाई सो समय थप गर्न कूटनीतिक आग्रह गरेको हो ।
अहिले १२ हजार युवा कोरिया जान प्रतीक्षा सूचीमा रहेका छन् । दुई वर्ष समय अवधि नबढाएमा उनीहरू कोरिया जानबाट वञ्चित हुनेछन् । सोही कारण उनीहरू सरकारले प्रभावकारी रूपमा पहल गर्नुपर्ने आफ्नो रोजगारी पक्का हुनुपर्ने मागसहित आन्दोलित भइरहेका छन् ।
युवाहरूको मागलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इपिएस प्रणालीबाट कोरिया जान तयार गरिएको रोष्टरको हालको समय सीमा थप गर्न कोरिया सरकारलाई पहल गर्ने निर्णय गरेको छ । साथै, कोरिया जाने कोटा बढाउन पनि पहल गरेको जनाएको छ ।




















