काठमाडौं:= नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघले आसन्न ६०औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने बताउनुभएको छ। भक्तपुर उद्योग वाणिज्य संघको २८औँ वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै उहाँले महासंघको संस्थागत सुधार, नीतिगत निरन्तरता र निजी क्षेत्रको एकताका लागि आगामी महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन आवश्यक रहेको र आफूले सो पहल गर्ने बताउनुभयो ।
अध्यक्ष ढकालले महासंघले निजी क्षेत्रको साझा छाता संगठनका रूपमा नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको हक–हित संरक्षणका लागि सरकारसँग निरन्तर संवाद र सहकार्य गर्दै आएको बताउनुभयो । उहाँले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउन नहुने विषयको पैरवीदेखि अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार आयोग गठन र लगानीमैत्री वातावरण निर्माणका लागि दर्जनौं कानुन संशोधनमा महासंघले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । अध्यक्ष ढकालले भन्नुभयो, ‘उत्पादन, रोजगारी र लगानी प्रवद्र्धनका लागि नीतिगत स्थायित्व र सरकार-निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य छ । महासंघले गरेको निरन्तरको प्रयासले धेरै नीतिगत सुधारहरू भए ।
मुलुकभित्र लगानी प्रवद्र्धन र नीतिगत सुधारमा महासंघको बलियो उपस्थिति देखिएको छ ।’ यद्यपि उहाँले पछिल्लो समय निजी क्षेत्रको मनोबल खस्किएको चर्चा गर्दै यस अवस्थामा निजी क्षेत्रले शान्तिसुरक्षा, लगानी गर्ने वातावरणको सुनिश्चितता खोजिरहेको धारणा राख्नुभयो । मुलुकको आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रको मनोबल माथि उठाउनु आजको आवश्यकता रहेको बताउँदै अध्यक्ष ढकालले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा गलत घुसपैठ गरी उद्योग व्यवसाय तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको नेतृत्वमा लगानी प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै उहाँले सोही उद्देश्यसाथ महासंघको पहलमा १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरी काम भइरहेको बताउनुभयो । उक्त कम्पनीले ठूला पूर्वाधार परियोजनामा निजी क्षेत्रको सहभागिता, उत्पादनमूलक क्षेत्रमा लगानी, रोजगारी सिर्जनाको उद्देश्य राखेको बताउँदै उहाँले स्थानीय उद्यमीहरूले यस अवसरलाई सदुपयोग गर्न आग्रह गर्नुभयो । भक्तपुर ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले मात्र होइन, परम्परागत हस्तकला, घरेलु उद्योग, साना तथा मझौला व्यवसायको केन्द्रका रूपमा पनि परिचित जिल्ला भएको उल्लेख गर्दै ढकालले स्थानीय उद्योग, व्यवसाय र पर्यटन प्रवद्र्धनमा स्थानीय वाणिज्य संघहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।




















