सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले अनिवार्य कार्यक्षेत्रको मुख्य हतियार बनाउने।

काठमाडौं := नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र बनाउने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘साम्राज्यवादी शक्तिहरूले प्रविधिको प्रयोग गरी कलर रिभोलुसनमार्फत् अस्थिरता निम्त्याउन खोजिरहेका छन्।’

​यसको काउन्टरका लागि एमालेका हरेक नेता र कार्यकर्ताले सामाजिक सञ्जाललाई व्यापक रूपमा प्रयोग गर्नुपर्ने अपानिमा भनिएको छ। पार्टीका नीति, चुनावी प्रतिबद्धता र उम्मेदवारहरूको प्रचारका लागि संस्थागत योजना बनाएर अघि बढ्न पनि अपानिमा निर्देशन दिइएको छ।

बिहीबार जारी ‘अन्तरपार्टी निर्देशन-१’ (अपानि) को बुँदा नम्बर १ मा अध्यक्ष केपी शर्मा ओलीले एघारौं महाधिवेशनका उपलब्धि, पारित प्रस्ताव र भावी रणनीतिबारे विस्तृत विश्लेषण गरेका छन्।

​१. महाधिवेशनबाट एकताको सन्देश

​एमालेले एघारौं महाधिवेशनलाई विचार, संगठन र एकताको त्रिवेणीका रूपमा परिभाषित गरेको छ। महाधिवेशनले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्दै नयाँ नेतृत्व चयन गरेको र यसले कार्यकर्तामा अभूतपूर्व उत्साह जगाएको निष्कर्ष निकालेको छ। महाधिवेशनको मूल नारा ुनिर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्यु लाई पूर्ण रूपमा आत्मसात गरिएको एमालेले जनाएको छ।

​२. २१ बुँदे समसामयिक प्रस्ताव पारित

​महाधिवेशनले मुलुकको पछिल्लो राजनीतिक, आर्थिक र सामाजिक अवस्थाको विश्लेषण गर्दै २१ बुँदे विशेष प्रस्ताव पारित गरेको छ। जसमा भनिएको छ । ‘​अराजकता र घेराबन्दीको सामनाः पार्टी र नेतृत्व विरुद्ध भइरहेका नियोजित प्रहार र सामाजिक अराजकतालाई वैचारिक र सांगठनिक रूपमा परास्त गर्ने।

​अर्थतन्त्रको सुधारः मुलुकको धरासायी बन्दै गएको अर्थतन्त्रलाई जोगाउन ‘उत्पादन र रोजगारी’मा केन्द्रित हुने। ​राष्ट्रिय स्वाधीनताः देशको सिमाना, सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि दृढतापूर्वक उभिने।

​३. ‘कलर रिभोलुसन’ र प्रविधिमाथि निगरानी

​अपानिको उपबुँदामा उल्लेख भए अनुसार, एघारौं महाधिवेशनले अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले प्रविधिको प्रयोग गरी ‘कलर रिभोलुसन’ मार्फत् नेपालमा अस्थिरता निम्त्याउन खोजेको ठहर गरेको छ। यसको प्रतिवाद गर्न सूचना प्रविधि र सामाजिक सञ्जाललाई पार्टीको ‘कोर कार्यक्षेत्र’ बनाउने निर्णय भएको छ।

​४. नयाँ नेतृत्व र ‘मिसन २०८४’को आधार

​महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन गर्दै आगामी निर्वाचन (मिसन २०८४) मा एमालेलाई पहिलो र बहुमतप्राप्त शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ। महाधिवेशनले पारित गरेका दस्तावेजहरूलाई अबको ६ महिनाभित्र तल्लो तहसम्म पुर्‍याउन ‘विशेष प्रशिक्षण अभियान’ सञ्चालन गरिने निर्देशनमा उल्लेख छ।

​५. नीति अनुसन्धान र विज्ञतालाई प्राथमिकता

​पार्टीलाई आधुनिक र थप प्राज्ञिक बनाउन ‘नीति तथा अनुसन्धान प्रतिष्ठान’लाई सक्रिय बनाउने र यसलाई पार्टीको नीति निर्माणको मुख्य केन्द्र बनाउने निर्णय महाधिवेशनले गरेको छ। यही सिलसिलामा महाधिवेशनमा पराजित भएका तर अनुभवी नेताहरूलाई पनि विशिष्ट जिम्मेवारी दिएर सँगै लैजाने नीति लिइएको भनिएको छ।

​६. प्रतिरोधी दस्ता र जनपरिचालन

​राजनीतिक अस्थिरता र ध्वंसात्मक गतिविधि रोक्न महाधिवेशनले दिएको म्यान्डेट अनुसार देशभर ‘राष्ट्रिय स्वयंसेवक फोर्स’ र टोल(टोलमा सुरक्षा समिति बनाउने कार्यलाई तीव्रता दिइनेछ। अन्तरपार्टी निर्देशनमा अध्यक्ष ओलीले एघारौं महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई ‘नेपाली क्रान्तिको नयाँ प्रस्थान बिन्दु’ भएको बताएका छन्।

अपानिमा महाधिवेशनले तय गरेको कार्यदिशा अनुसार अबको सम्पूर्ण शक्ति संगठन सुदृढीकरण र आगामी निर्वाचनको तयारीमा केन्द्रित गर्न निर्देशन दिइएको छ।