क्वालालम्पुर (मलेसिया):= मलेसियाको गृह मन्त्रालयले सन् २०२५ का लागि अपुग विदेशी कामदार रोजगारी कोटा आवेदन गर्न विशेष आवेदन अवधि खोल्ने घोषणा गरेको छ। मन्त्रालयका अनुसार रोजगारदाताहरूले जनवरी १९ देखि मार्च ३१, २०२६ सम्म विशेष ‘विन्डो’ मार्फत आवेदन दिन सक्नेछन्।
मन्त्रालयले यसअघि घोषणा गरिएको समयसीमा अनुसार डिसेम्बर ३१ सम्म पनि आवेदन प्रक्रिया जारी रहने स्पष्ट पारेको छ। विशेष आवेदन अवधि सरकारद्वारा अक्टोबर १ मा स्वीकृत सबै क्षेत्र र उपक्षेत्रहरूमा लागू हुनेछ, तोकिएका योग्यता मापदण्डहरू पूरा गर्नुपर्ने शर्तसहित।
यसमा कोटा सीमाका कारण यसअघि बन्द गरिएको घरेलु व्यापार तथा जीवनयापन लागत मन्त्रालयअन्तर्गतको सेवा क्षेत्रसमेत समावेश गरिएको छ। जनवरी १९ देखि मार्च ३१ बीच प्राप्त सबै आवेदनहरू सम्बन्धित सुपरिवेक्षण मन्त्रालयहरूसँग छलफल गरी विचार गरिने र विदेशी कामदार रोजगारीसम्बन्धी विद्यमान सर्तहरूअनुसार नै मूल्याङ्कन गरिने मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयले रोजगारदाताहरूलाई एजेन्ट वा तेस्रो पक्ष प्रयोग नगरी विदेशी कामदार व्यवस्थापन वन–स्टप सेन्टर (FWCMS) मार्फत सिधै आवेदन दिन आग्रह गरेको छ। विशेष आवेदन अवधिमा प्रक्रिया सहज बनाउन जनवरी १६ देखि मन्त्रालयको आधिकारिक वेबसाइटमार्फत अग्रिम भेटघाट (appointment) लिनुपर्ने व्यवस्था गरिएको छ।
यो विशेष आवेदन अवधि उद्योगको आवश्यकता पूरा गर्ने र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने सरकारको प्रतिबद्धताअनुसार सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ।



















