रवि-बालेनको मिलनले दबाब र डरमा पुराना राजनीतिक दलहरु।

काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिका का मेयर बालेन्द्र साह (बालेन) बीच आगामी चुनावमा मिलेर जानेलगायत सात बुँदे सहमति भएसँगै मुलुकको राजनीति तरंगित भएको छ । रास्वपा सभापति रवि लामिछानेसँग सात बुँदे सहमति गर्दै मेयर साह रास्वपा प्रवेश गर्नुभएको हो । साह आगामी निर्वाचनमा घण्टी चुनाव चिह्न लिएर चुनाव लड्नुहुने छ । मेयर साह भावी प्रधानमन्त्रीका रूपमा प्रस्तावित हुँदै रास्वपामा प्रवेश गर्नुभएको हो । २०७९ सालमा भएको स्थानीय तह चुनावमा काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बनेर कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गरेपछि बालेन चर्चित र शक्तिशाली बन्नुभएको थियो ।

पार्टी स्थापनाको केही महिनामै भएको संसदीय चुनावमा अप्रत्यासित रूपमा रवि लामिछाने नेतृत्वको रास्वपा २१ सिटका साथ संसद्मा चौथो ठूलो दल बनेको थियो । लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्नुभयो । राहदानी प्रकरणमा पद गुमाउनुभयो । चितवन–२ मा फेरि भएको उपनिर्वाचनमा लामिछाने पुनः निर्वाचित हुनुभयो । उपनिर्वाचनमा जितेपछि फेरि उपप्रधान तथा गृहमन्त्री बन्नुभएका लामिछाने सहकारी प्रकरणमा मुछिनुभयो । लामिछाने अहिले सहकारी प्रकरणमा धरौटी जमानीमा थुनामुक्त हुनुभएको छ । थुनामुक्त भएपछि तीव्र राजनीतिक भेटघाटपछि लामिछाने बालेनलाई रास्वपामा प्रवेश गराउन सफल हुनुभएको छ ।

नेपालको राजनीतिक वृत्तमा २०७९ सालको चुनावपछि निरन्तर चर्चा र चासोको विषय बनेका दुई पात्र रवि र बालेनको मिलनपछि फरक-फरक प्रतिक्रियाहरू आएका छन् । रास्वपा र बालेनका समर्थकहरूमा उत्साह छाएको भने परम्परागत राजनीतिक दलहरूले एकताबारे मिश्रित र सन्देहपूर्ण टिप्पणी गरेका छन् । कतिपयले राजनीतिक शक्तिबीच ध्रुवीकरण हुनुलाई सकारात्मक भनेका छन् भने केहीले मुलुकलाई फाइदा नगर्ने टिप्पणी पनि गरेका छन् । रवि र बालेनको मिलनले राजनीतिमा तरंग पैदा हुँदै गर्दा परम्परागत राजनीतिक दलहरू भने निकै दबाबमा परेका छन् ।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर रवि–बालेन मिल्दा मुख्यगरी कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीभित्र ठूलो हलचल उत्पन्न भएको छ । अघिल्लो निर्वाचनबाट चौथो ठूलो शक्ति बनेको रास्वपा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेर पहिलो शक्ति बन्ने रणनीतिका साथ अघि बढेको छ । पुराना दलप्रति जनताको असन्तुष्टि बढिरहेका बेला रवि–बालेनको मिलनले आगामी चुनावी परिणाममा उलटफेर हुनसक्ने कतिपयको तर्क छ । राजनीतिक दलका नेताहरूले भने चुनावी परिणाममा खासै असर नपर्ने दाबी गरेका छन् ।

नेपाललाई युक्रेन बनाउने षड्यन्त्रको दोस्रो चरण सुरु : एमाले

नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई युक्रेनको हालतमा लैजाने षड्यन्त्र भइरहेको टिप्पणी गर्नुभएको छ । गत भदौ २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण रहेको र अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरु भएको पोखरेलको टिप्पणी छ । रास्वपा र बालेन साहबीच भएको सात बुँदे सहमतिलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले भन्नुभएको छ, ‘भाद्र २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवाको हत्या गरियो ।

त्यसको आडमा भाद्र २४ गते मुलुकको अस्मिता र सामथ्र्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधार स्तम्भमाथि आक्रमण गरियो । यी विध्वंशकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए ? भन्ने कुरा क्रमशः सार्वजनिक हुँदै छ । नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार र सक्रिय भूमिका खेल्नुपर्छ ।’ नेकपा एमालेका अर्का नेता मानवीर राईले रास्वपा र बालेन साहको एकताले खासै अर्थ नराख्ने दाबी गर्नुभएको छ ।

रवि र बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैन : कांग्रेस

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले रास्वपा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहबीचको मिलन कुनै अनौठो नभएको प्रतिक्रिया दिनुभएको छ । राजनीतिमा को-को जुट्छन् र को-को फुट्छन् भन्ने कुरा कांग्रेसलाई चासोको विषय नरहेको उहाँको भनाइ छ । कांग्रेसले यसलाई गम्भीर रूपमा लिन आवश्यक नरहेको टिप्पणी गर्दै भन्नुभयो, ‘बालेन र रविको सहमतिलाई मैले अनौठो मानेको छैन ।

को-को मिल्छन्, को-को जुट्छन्, को-को फुट्छन् । राजनीतिक यात्रामा यो भइरहने हो । त्यसकारण यो अनौठो मान्नुपर्दैन । राजनीतिमा सबै चुनौतीहरू हुन्छन् । हरेक चुनौतीको सामना गर्न तयार भएको कांग्रेसले राणाकालीन चुनौती, पञ्चायती चुनौती फेस गरेको कारणले अब अहिले आएर को–को मिल्छन् त्यसलाई खासै गम्भीर ढंगले लिएको छैन ।’ कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले १० वर्ष पार्टी चलाएर देखाउन नयाँ राजनीतिक दलहरूलाई चुनौती दिनुभएको छ ।

दलहरूबीच ध्रुवीकरण हुनु सकारात्मक : नेकपा

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रवि लामिछाने र बालेन साहबीचको सहमतिलाई सकारात्मक रूपमा लिएको छ । नेकपाका प्रवक्ता अग्नि सापकोटाले राजनीतिक दलहरूबीच ध्रुवीकरण हुनु सकारात्मक विषय भएको उल्लेख गर्दै भन्नुभयो, ‘बालेन र रास्वपाबीच एकता हुनु राजनीतिक रूपमा राम्रो सन्देश हो । देश चलाउने राजनीतिक दलहरूले हो । दल बिनाको राजनीति हुँदैन ।’ रास्वपा राजनीतिक र वैचारिक रूपमा अहिलेसम्म स्पष्ट नभएको टिप्पणी गर्दै सापकोटाले भन्नुभयो, ‘उहाँहरूमा अहिलेसम्म वैचारिक स्पष्टता छैन । पुराना दललाई गाली गरेर मात्र राजनीति हुँदैन । विचार, सिद्धान्त र संगठनका आधारमा राजनीति हुन्छ ।’

वास्तविक समस्या पहिचान नहुनु विडम्बना : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले रास्वपाका सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन साहबीच भएको सम्झौतालाई सकारात्मक रूपमा लिनुपर्ने बताउनुभएको छ । तर, सहमति गर्दै गर्दा देशको वास्तविक समस्या र बदल्नुपर्ने प्राथिमकता पहिचान नहुनु चाहिँ विडम्बनापूर्ण भएको टिप्पणी गर्दै प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘अलिक बढी चर्चा कमाएका दुई युवाहरूको सहमति हुनु राम्रै हो । सहमति गर्दै गर्दा देशको वास्तविक समस्या र बदल्नुपर्ने प्राथमिकता पहिचान गरी तदअनुरूपको रुझान नदेखिनु विडम्बनापूर्ण छ । सहमतिको पृष्ठभूमिमा देश र जनतालाई राखिएको छ कि बाह्य स्वार्थ भन्ने कुरा आगामी दिनमा देखिँदै जाला ।’

संघीयता र धर्म निरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता मनीष सुमनले रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भएको सम्झौता स्वाभाविक भए पनि संघीयता र धर्म निरपेक्षता जस्ता आधारभूत विषयहरू समावेश नभएको भन्दै आशंका व्यक्त गर्नुभएको छ। आइतबार जनकपुरधाममा कुरा गर्दै नेता सुमनले ‘जेन-जी’ आन्दोलनका माग र आम जनताको अपेक्षाअनुसार दुई शक्तिबीचको सम्झौता स्वाभाविक भए पनि त्यसमा संघीयता र धर्म निरपेक्षताको उल्लेख नहुँदा चिन्ता उत्पन्न भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो सम्झौता स्वाभाविक जस्तो लाग्यो । ‘जेन-जी’ आन्दोलनका मागअनुसार यथास्थितिबाट देश परिवर्तन गर्नुपर्ने आम जनताको चाहनाअनुसार सम्झौता भएको हो। तर, सम्झौतामा संघीयता र धर्म निरपेक्षताको कुरा बिर्सनुभयो। त्यसबारे उल्लेख गर्न लाज मानिएको जस्तो लाग्यो।’ सुमनले बालेन्द्र साहजस्तो चर्चित व्यक्तित्व रास्वपामा सामेल हुनु पार्टीका लागि सौभाग्यको विषय भए पनि रास्वपाको नीति ठीक नभएको आरोप लगाउनुभयो । उहाँले रास्वपाले संघीयताको विरोधमा गतिविधि गर्दै आएको भन्दै यसले संशय बढाएको बताउनुभयो ।

समाचार स्रोत : अनिल क्षेत्री / हिमालय टाईम्स पत्रीका