मलेसियामा डिसेम्बर २४ सम्म ९० हजार भन्दा बढी अवैधानिक पक्राउ, नेपाली ७६९ जना।

उनका अनुसार विभागले प्रत्यक्ष सञ्चालन गरेका अपरेसनबाट ५०,४७२ जना अवैध आप्रवासी पक्राउ परेका छन् भने ४१,३५७ जना मुख्य प्रवेश नाकाबाट तथा अन्य सुरक्षा निकायबाट हस्तान्तरण भएर नियन्त्रणमा लिइएका हुन्। शनिबार स्थानीय मिडिया सिनार हारियानसँग कुरा गर्दै लोकमानले भने, “अपरेसनका क्रममा सबैभन्दा धेरै पक्राउ पर्नेमा इन्डोनेसियाली नागरिक छन्।”

तथ्यांकअनुसार पक्राउ पर्नेमा इन्डोनेसियाका १५,३८५ जना, बंगलादेशका ११,१०५ जना, म्यानमारका ९,७८९ जना, फिलिपिन्सका ४,३६५ जना, पाकिस्तानका २,४९७ जना, भारतका १,६३० जना, थाइल्यान्डका १,४९३ जना, चीनका १,०३८ जना, भियतनामका ९०९ जना तथा नेपाली नागरिक ७६९ जना रहेका छन्। अन्य देशका नागरिक पनि सूचीमा छन्।

यसैगरी, अवैध आप्रवासीलाई रोजगारी दिने तथा संरक्षण गर्ने रोजगारदातामाथि पनि कारबाही गरिएको लोकमानले जानकारी दिए। यस क्रममा २,०१२ जना स्थानीय नागरिक पक्राउ परेका छन् भने बंगलादेशी ३४ र इन्डोनेसियाली २१ जना रोजगारदाता पनि नियन्त्रणमा लिइएका छन्।

पाकिस्तान, चीन, थाइल्यान्ड र म्यानमारका नागरिकहरू पनि अवैध आप्रवासीलाई काममा लगाएको अभियोगमा मुद्दा चलाइएकामध्ये परेका छन्। गत नोभेम्बरमा क्लाङ पोर्टमा गरिएको विदेशी प्रवर्तन अपरेसनको नेतृत्व लोकमान आफैंले गरेका थिए।