काठमाडौं := नेपालका लागि ‘ओमोडा एण्ड जेइको’ गाडीको आधिकारिक बिक्रेता एसपिजी अटोमोबाइल्स प्रालिले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण ओमोडा इलेक्ट्रिफाइङ खेलाडी चुनिनुभएका रोहित पौडेललाई जेइको जे-फाइभ हस्तान्तरण गरेको छ ।
यही कार्यक्रमबीच एसपिजीले रोहितलाई ओमोडाको नयाँ ब्राण्ड एम्बासडरका रूपमा सार्वजनिक गरेको हो । कार्यक्रममा पूर्वएम्बासडर, रोहितका राष्ट्रिय टोलीका सहकर्मी दीपेन्द्रसिंह ऐरीलाई पनि सम्मान गरिएको थियो ।
लुम्बिनी लायन्सलाई आफ्नो कप्तानीमा एनपिएलको च्याम्पियन बनाउनुभएका रोहितले प्रतियोगितामा सानदार अलराउण्ड प्रदर्शन गर्नुभएको थियो । नेपाली खेलाडीमा सर्वाधिक (२७६) रन बनाउनुभएका रोहितले १० विकेट पनि लिनुभएको थियो । सुदूरपश्चिमविरुद्धको फाइनलमा रोहितले ह्याट्रिक विकेटको सफलता हासिल गर्नुभएको थियो ।
इलेक्ट्रिफाइङ खेलाडीको उपलब्धिस्वरूप उहाँलाई जेको जे फाइब इलेक्ट्रिक एसयुभी प्रदान गरिएको हो ।
खेलकुदमा खेलाडीको योगदानलाई थप सम्मान गर्न एसपिजीले गाडीमा लाग्ने सम्पूर्ण ‘विन्डफल ट्याक्स’ (कर) आफैंले बेहोर्ने घोषणासमेत गरेको छ । गत सिजन यो पुरस्कार ऐरीले जित्नुभएको थियो ।




















