नेपाली जनसम्पर्क समिति, अमेरिकाका सबै च्याप्टरमा निर्विरोध नेतृत्व चयन, अब चासो केन्द्रिय अधिवेशनमा।

अमेरिका := नेपाली जनसम्पर्क समिति, अमेरिकाका सबै च्याप्टरमा निर्विरोध नेतृत्व चयन सम्पन्न भएको छ । एकैसाथ सम्पन्न २६ वटै च्याप्टर अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको हो । च्याप्टर अधिवेशनहरू सफलता पूर्वक सम्पन्न भएको समितिका केन्द्रीय सभापति एवं नेपाली कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले जानकारी दिनुभयो ।

‘अमेरिकाभरिका सबै च्याप्टरको अधिवेशन एकैपटक उत्साह र हार्दिकताका साथ सम्पन्न गरेका छौं । अब पार्टी नेतृत्वसँग समन्वय गरेर छिट्टै केन्द्रीय अधिवेशन सम्पन्न गर्छौं’, सभापति विष्टले बताउनुभयो । समितिले च्याप्टर अधिवेशनपूर्व डिसेम्बर ४ देखि १५ तारिखसम्म सदस्यता वितरण खुला गरेको थियो । सो अवधिमा चार हजारभन्दा बढीले जनसम्पर्क समितिको सदस्यता लिएका थिए । पूर्वघोषित कार्यतालिका अनुसार डिसेम्बर २० मा सबै च्याप्टर अधिवेशन सम्पन्न गरिएको हो । सबै नेतृत्व निर्विरोध निर्वाचित भएपछि अमेरिकामा रहेका कांग्रेसजन उत्साहित भएका छन् ।

२६ च्याप्टरमा सर्वसम्मत नेतृत्व

हाल अमेरिकामा नेपाली जनसम्पर्क समितिका २६ वटा च्याप्टर क्रियाशील रहेका छन् । ती सबै च्याप्टरमा एकैपटक अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिएको हो । यसअघि स्थापित केही च्याप्टर भने समितिको गाइडलाइन अनुसार मापदण्ड पूरा गर्न नसक्दा कायम रहन सकेनन् ।

सबैभन्दा बढी सदस्य रहेको सान फ्रान्सिस्को (क्यालिफोर्निया) च्याप्टरमा हरि भट्टको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ । दोस्रो बढी सदस्य भएको न्यूयोर्क च्याप्टरको अध्यक्षमा दिनदयाल भण्डारी (दिनेश) निर्वाचित हुनुभएको छ ।

यसैगरी कोलोराडोमा डा.गणेश भण्डारी, डालास (टेक्सास)मा उज्वल खत्री, मेरिल्याण्डमा नेत्र केसी, साउदर्न क्यालिफोर्निया (लस एञ्जलस)मा रामचन्द्र लामिछाने, विस्कनसिनमा हरिहरू पौडेल, लङ आइल्याण्डमा श्याम पौडेल, स्याक्रामेन्टोमा राजाराम अधिकारी, कनेक्टिकटमा रबिन लिम्बु, जर्जियामा शिवकमल पौडेल र नर्थ क्यारोलिनामा भानु आचार्यको नेतृत्वमा कार्य समिति चयन भएको छ ।

त्यसैगरी शिकागोमा विजेन्द्रविक्रम राणा, सेन्ट्रल टेक्सासमा विनोद श्रेष्ठ, वेष्ट टेक्सासमा हरिप्रसाद ढकाल, साउथ फ्लोरिडामा अभिनाश नायक, भर्जिनियामा यमकुमार सिटौला, न्यूजर्सीमा सञ्जीव श्रेष्ठ, पेन्सिलभेनियामा गार्भीलाल यादव, बोस्टनमा विश्वा लामा, मिशिगनमा कृष्ण सिंह, केन्टकीमा युवराज ढुंगाना, अष्टिन (टेक्सास) मा कौशलकुमार यादव, नेभाडामा प्रवीन माखिम, नेब्रास्कामा भुवन भण्डारी र कान्सास सिटीमा फिलिप केसीको अध्यक्षतामा सर्वसम्मत कार्य समिति चयन भएको छ ।

केन्द्रीय अधिवेशनप्रति चासो

च्याप्टर अधिवेशन सम्पन्न भएसँगै अब समितिको केन्द्रीय अधिवेशनप्रति सबैको चासो बढेको छ । प्रत्येक च्याप्टरबाट पाँचजना साधारण सदस्य बराबर एकजना केन्द्रीय प्रतिनिधि चयन हुने व्यवस्था छ । ती प्रतिनिधिहरूले केन्द्रीय अधिवेशनमा मतदानमार्फत नयाँ नेतृत्व चयन गर्नेछन् ।

यसै अवधिमा कांग्रेसको क्रियाशील सदस्यता नवीकरण तथा वितरण कार्य पनि सम्पन्न गरिएको थियो । सबै विवरण संकलन गरी पार्टी केन्द्रलाई जानकारी गराइने र पार्टी समन्वय विभागसँग छलफल गरी केन्द्रीय अधिवेशनको मिति र स्थान तय गरिने सभापति विष्टले जानकारी दिनुभयो ।

यसअघि डिसेम्बर २७ मा हुने भनिएको केन्द्रीय अधिवेशन व्यवस्थापकीय कारण देखाउँदै स्थगित गरिएको थियो । अधिवेशन स्थगित भएपछि छिट्टै नयाँ मिति र स्थान सार्वजनिक गर्न समिति सदस्यहरूले दबाब बढाएका छन् ।

नेतृत्व आकांक्षी बढ्दै

समितिको आगामी केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ । हालसम्म गौतम दाहाल, वेदप्रसाद खरेल, सीपी पौडेल, भरत अर्याल, विष्णु सुवेदी र मुनिन्द्र नेम्वाङले आकांक्षा सार्वजनिक गरिसकेका छन् । अन्य केही नाम पनि थपिन सक्ने अनुमान गरिएको छ ।

४० सदस्यभन्दा बढी रहने केन्द्रीय समितिको नेतृत्व चयन सहमतिका आधारमा हुनुपर्ने आवाज च्याप्टर अधिवेशनपछि बलियो बन्दै गएको छ । ‘च्याप्टरमा सर्वसम्मत नेतृत्व आएझैं केन्द्रीय समितिमा पनि सहमतिमै नेतृत्व चयन हुनुपर्छ, त्यसले संगठनको एकता बलियो बनाउँछ’, एक निर्वाचित च्याप्टर सभापतिले प्रतिक्रिया दिनुभयो ।