नेपाली कांग्रेस पार्टी आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिने तयारीमा जुटिसकेको छ: सभापति देउवा।

काठमाडौं := वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रुपमा छलफल सुरु गरेको छ ।

छलफलका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिने तयारीमा जुटिसकेको बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग आज आफ्नै निवासमा भएको भेटमा उहाँले निर्वाचनमा भाग लिने निर्णय आफ्नो पार्टीले गरेको र कांग्रेसको प्राथमिकतामा पनि निर्वाचन नै भएको बताउनुभयो ।

साथै सभापति देउवाले स्वतन्त्र एवं निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सरकारले उचित वातावरण बनाउनुपर्ने सुझाव दिनुभएको राजनीतिक संवाद समितिका सदस्यसमेत रहनुभएका मन्त्री खरेलले बताउनुभयो ।