वैदेशिक रोजगारका नाममा हुने ठगी नियन्त्रणमा मन्त्रालय एकदमै सक्रिय।

काठमाडौं := वैदेशिक रोजगारका नाममा हुने ठगीका घटनाहरू तीव्र रूपमा बढ्दै गएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ठगी न्यूनीकरणका लागि नयाँ सेवा सञ्चालनमा ल्याउने भएको छ । मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ नामक सेवा आगामी पुस ८ गतेदेखि सुरु गर्ने घोषणा गरेको हो ।

मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले पछिल्लो समय वैदेशिक रोजगारसम्बन्धी ठगीका उजुरी तथा मुद्दा दर्ता हुने क्रम उल्लेख्य रूपमा बढेकाले त्यसलाई नियन्त्रण गर्न नयाँ प्रणाली आवश्यक भएको बताउनुभयो । उहाँका अनुसार यो सेवा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर सुरु गरिनेछ ।

‘हेल्प टु हेल्प १० सेल’ सेवाले वैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई आधिकारिक सूचना, मार्गदर्शन र परामर्श उपलब्ध गराई सुरक्षित, सचेत र सूचित निर्णय लिन सहयोग गर्ने लक्ष्य लिएको छ । मन्त्रालयका अनुसार यो सेवा श्रमिकका लागि एकीकृत सूचना केन्द्रका रूपमा कार्य गर्नेछ, जसबाट सही प्रक्रिया, कानुनी व्यवस्था र सम्भावित जोखिमबारे जानकारी प्राप्त गर्न सकिनेछ। मन्त्रालयले उक्त सेवामार्फत वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउने विश्वास लिएको छ।

७५३ स्थानीय तहदेखि केन्द्रसम्म एकीकृत सेवा

‘हेल्प टु हेल्प १० सेल’ अन्तर्गत देशभरका ७५३ स्थानीय तहमा रहेका रोजगार सूचना केन्द्र, सातै प्रदेशका श्रम तथा रोजगार कार्यालय, वैदेशिक रोजगार विभाग र समाधान कल सेन्टरलाई एउटै प्रणालीमा जोडिनेछ । यसमार्फत श्रमिकले कार्यालय समयभित्र नजिकको केन्द्र वा फोनमार्फत सेवा लिन सक्नेछन् ।

यस प्रणालीबाट श्रमिकले गन्तव्य देशको श्रम बजार अवस्था, रोजगारीको माग, आधिकारिक म्यानपावर कम्पनी, लागत शुल्क, उमेर सीमा, आवश्यक योग्यता, तालिम, स्वास्थ्य परीक्षण, भुक्तानी प्रक्रिया, सुरक्षित रूपमा विदेश जाने विधि तथा सम्बन्धित निकायका आधिकारिक सम्पर्क ठेगानासम्मको जानकारी प्राप्त गर्न सक्नेछन् ।

‘१० प्रमुख प्रश्न’मार्फत स्पष्ट जानकारी

मन्त्रालयका अनुसार ‘हेल्प टु हेल्प १० सेल’मार्फत वैदेशिक रोजगारमा जान चाहने श्रमिकले १० वटा प्रमुख र व्यावहारिक प्रश्नको उत्तर पाउने व्यवस्था गरिएको छ । यसले श्रमिकलाई भ्रामक सूचनाबाट जोगाउँदै आधिकारिक प्रक्रियाअनुसार विदेश जान सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

सचिव पुष्करले टिकटक, फेसबुक, रिल्सलगायत सामाजिक सञ्जालमा ‘छिट्टै विदेश पठाइदिन्छौँ’, ‘यति कमाइ हुन्छ’, ‘सरकारी कोटा’ जस्ता भ्रामक विज्ञापन र प्रचार बढ्दै गएको उल्लेख गर्दै यिनै कारण धेरै श्रमिक ठगीमा पर्ने जोखिममा रहेको बताउनुभयो । ‘यस्ता भ्रामक सूचनालाई चिर्न आधिकारिक सूचनामा आधारित प्रणाली आवश्यक थियो’, उहाँले भन्नुभयो ।

यसै अवसरमा मन्त्रालयले हरेक वर्ष डिसेम्बर १८ मा मनाइने अन्तर्राष्ट्रिय आप्रवासन दिवस यसवर्ष नेपालमा साप्ताहिक रूपमा मनाउने जानकारी दिएको छ । पुस १ देखि ७ गतेसम्म ‘श्रम आप्रवासनका चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन’ भन्ने नारासहित २५औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइनेछ ।

समाचार स्रोत : दिपिका न्यौपाने / हिमालय टाईम्स पत्रीका ।