क्वालालम्पुर (मलेसिया):= मलेसियास्थित नेपाली राजदूतावास र प्रवासी नेपाली समन्वय समिति “पिएनसिसि” मलेसियाको आर्थिक, भौतिक सहयोग र सहकार्यमा आयोजित कन्सुलर सेवाबाट हिजो शनिबारको दिन २२० जना नेपाली सेवाग्राहीले लाभ लिएका छन्।
मलेसियाको जोहोर राज्यमा कार्यरत नेपालीहरूलाई लक्षित गरी शनिबार आयोजना गरिएको कन्सुलर सेवाअन्तर्गत राहदानी नवीकरण, राहदानी वितरण, कागजात प्रमाणीकरण तथा अन्य आवश्यक सेवाहरू प्रदान गरिएको थियो।

राजदूतावासका अनुसार सेवाग्राहीहरूलाई सहज, छरितो र व्यवस्थित रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले आवश्यक जनशक्ति तथा व्यवस्थापन मिलाइएको थियो। व्यवस्थापनमा पिएनसिसिसँगै गैरआवासीय नेपाली संघ एनआरएनए क्षेत्रीय समिति जोहोरलगायत नेपाली संघसंस्थाका प्रतिनिधिहरुले समेत स्वयंसेवकको रूपमा विशेष भूमिका निभाए। कन्सुलर सेवा प्रवाहको क्रममा कुनै उल्लेखनीय समस्या नआएको र सेवाग्राहीहरूले सन्तोषजनक रूपमा सेवा प्राप्त गरेको राजदूतावासले जनाएको छ।

कन्सुलर सेवा आज १४ डिसेम्बर २०२५ सम्म जोहरमै जारी रहने समेत दूतावासले जनाएको छ। घुम्ती सेवामार्फत जोहोर राज्यमा रहेका नेपाली नागरिकहरूलाई सेवा प्रदान गर्ने लक्ष्य रहेको जनाइएको छ। राजदूतावासले सम्बन्धित सेवाग्राहीहरूलाई तोकिएको मिति, समय र स्थानमा आवश्यक कागजातसहित उपस्थित भई सेवा लिन अनुरोध गरेको छ।

साथै, आगामी दिनहरूमा पनि नेपाली श्रमिक तथा नागरिकहरूको सुविधालाई ध्यानमा राख्दै यस्ता कन्सुलर तथा घुम्ती सेवाहरूलाई निरन्तरता दिने योजना रहेको राजदूतावासले स्पष्ट पारेको छ। पीएनसीसी मलेसियाले आज आइतवारको दिन हुने कन्सुलर सेवामा पनि राजदूतावासलाई सक्दो भरपुर साथ दिने संयोजक पूर्ण सुब्बा लिम्बुले बताए।




















