मस्जिद जामेक एलआरटी ट्रेन स्टेशन वरपर अध्यागमनको छापा, ३१ जना विदेशी पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियन अध्यागमन विभाग (इमिग्रेशन) ले राजधानी क्वालालम्पुरको मस्जिद जामेक वरपर गरेको अपरेसन, छापामारीमा ३१ जना अवैधानिक आप्रवासी विदेशीहरूलाई पक्राउ गरेको छ।

क्वालालम्पुर अध्यागमन विभागका निर्देशक वान मोहम्मद साउपी वान युसोफले बताएअनुसार ‘अप्स कुतिप’ नामक अपरेसन, छापामारी हिजो बिहीबार बेलुका ०७:३० बजे सुरु भएको थियो, जसमा २५ जना अध्यागमनका पुलिस अधिकारी खटिएका थिए।

उनका अनुसार सो छापामारी मस्जिद जामेक एलआरटि स्टेशन वरपर र क्षेत्रका विभिन्न किनारामा रहेका विदेशी नागरिकहरूमा केन्द्रित थियो। “कुल ६० जना विदेशी नागरिकलाई जाँच गरियो र तीमध्ये ३१ जनालाई भिसा नभएको र विभिन्न मलेसियन आप्रवासन कानुन उल्लङ्घनका कारण पक्राउ गरेका छौँ,” उनले भने।

पक्राउ परेकामध्ये सबैभन्दा धेरै ११ जना बंगलादेशी, ८ भारतीय, ७ पाकिस्तानी, ३ इन्डोनेसियाली, १ सुडानी र १ फिलिपिनो नागरिक पक्राउ परेका हुन्। पक्राउ परेकालाई आवश्यक थप कारबाहीका लागि आप्रवासन डिपोमा पठाइएको छ।