जनकपुरको हारसंगै प्लेअफमा पुगे सुदूरपश्चिम, काठमाडौं, विराटनगर र लुम्बिनी।

काठमाडौं := लिग चरणबाटै नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को यात्रा टुङ्गायउने साबिक विजेता जनकपुर बोल्ट्सविरुद्ध उत्रिएको लुम्बिनी लायन्सले जित निकाल्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शुक्रबार भएको खेलमा जनकपुरविरुद्ध ४ विकेटको जित निकाल्दै लुम्बिनीले ८ अंकसहित तालिकाको चौथो स्थानमै यथावत रहेर प्लेअफमा स्थान बनाएको हो । लुम्बिनीले ७ खेलमा ४ जित निकालेको छ ।

टस हारेर १३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले १९ ओभर १ बलमा ६ विकेटको क्षतिमा १३७ रन बनाउँदै जित निकालेको हो । यससँगै प्लेअफमा सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किङ्स र लुम्बिनीको प्रतिस्पर्धा हुने भएको छ । सुदूरपश्चिम ६ खेलमा शतप्रतिशत जित निकाल्दै १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । काठमाडौं ५ खेलमा पाँच जित निकाल्दै १० अंकका सात तालिकाको दोस्रो स्थानमा छ ।

विराटनगर ६ खेलमा ४ जित निकाल्दै ८ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । पोखरा, चितवन राइनोज, कर्णाली याक्स र जनकपुर बोल्ट्सले भने लिग चरणबाटै एनपीएल २ को यात्रा सकेर घर फर्किएका छन् । ६ खेलमा २ जितको अवस्थामा ४ अंकसहित तालिकाको पाँचौ स्थानमा पोखरा छ । ६ खेलमा २ जित र ४ हारको अवस्थामा ४ अंकसहित नेट रन रेटका आधारमा चितवन राइनोज छटौं स्थानमा छ ।

७ औं स्थानमा रहेको कर्णाली ६ खेलमा १ जित निकाल्दै २ अंक जोडेर लिग चरणबाट बाहिरिने पहिलो टिम बनेको हो ।जनकपुर ६ खेलमा १ जित निकाल्दै २ अंकसहित तालिकाको अन्तिम स्थानमा छ । अब यी चार टोलीका भेट सिजन ३ मा हुनेछ । शुक्रबारको खेलमा लुम्बिनीको जितका नायक ‘प्लेयर अफ दी म्याच’ कप्तान रोहित पौडेल रहे। र महत्त्वपूर्ण ‘म्याच विनर’ पारी खेलेका थिए। प्लेअफमा पुगेपछि कप्तान रोहित पौडेलले उत्साहित हुँदै प्रतिक्रिया दिए। उनले भने, ‘प्लेअफ पुग्दा एकदमै खुसी छौँ।

अबका खेलमा राम्रो गरेर उपाधि जित्छौं भन्ने लागेको छ।’ रोहितले आफ्ना लागि कुनै पनि टिम बलियो नरहेको बताउँदै सहज जित निकाल्नेमा विश्वास व्यक्त गरे। ‘अबका खेलहरू भनेका नकआउट जस्तै हुन् । कुनै पनि टोलीसँग खेल्न हामीलाई गाह्रो हुँदैन,’ उनले थपे। उता, प्लेअफबाट बाहिरिएको जनकपुर बोल्ट्सका कप्तान जान निकोल लफ्टि इटनले आफ्नो टोलीले अन्तिम खेल प्रतिष्ठा, समर्थक र व्यवस्थापनका लागि खेल्ने बताएका छन्।