काठमाडौँ:= गैर आवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष सुनील साहले नेपालमा हालै भएका राजनीतिक परिवर्तनको कारणले पनि गैर आवासीय नेपाली संघमा बृहत् एकता अत्यावश्यक भई सकेको बताएका छन्।आफू सधैँ सहमतिको पक्षमा, जहिले पनि मिल्नु पर्छ भन्ने पक्षमा रहेको साहले बताए । “नेपालको अहिलेको परिस्थितिमा हामीले पुनर्निर्माणमा सहयोग गर्नु पर्ने छ। एनआरएनएले काठमाडौँस्थित ट्राफिक प्रणालीको पुनर्निर्माणमा सहयोग गरेको छ। तर हामी एकताबद्ध भयौँ भने अझ बलियो सहयोग गर्न सक्छौँ,” उनले भने।
सङ्घलाई एकताबद्ध बनाउन एनसीसी अमेरिकाको गहन भूमिका रहने बताउँदै एनसीसी अमेरिकाका पूर्व अध्यक्ष रही सकेका साहले एनसीसी र केन्द्रमा पनि एकता कायम गर्न आफूले सक्दो प्रयास गरिरहेको जनाए। संघका केन्द्रीय अध्यक्ष महेश कुमार श्रेष्ठको नेतृत्वमा गत १ नोभेम्बरमा तयार गरिएको सहमति पत्रको मस्यौदाले एनआरएनएलाई पुनः साझा मञ्चमा ल्याउने इमानदार प्रयास गरेको बताउँदै साहले उक्त मस्यौदाले सङ्घलाई यसको मूल मर्मअनुसार स्वतन्त्र, स्वायत्त, गैर राजनीतिक, सामाजिक तथा परोपकारी संस्थाको रूपमा सुदृढ बनाउने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको जनाए ।
“संघको १० औँ महाधिवेशन पछि गठित विभिन्न समितिहरूको अस्तित्वलाई स्वीकार गर्दै विगतमा एनआरएन अभियन्ताहरूको योगदानलाई पनि हामीले सम्मान गर्नु पर्दछ.अदालतमा रहेका मुद्दाहरूलाई आपसी सहमतिमा फिर्ता लिएर संस्थागत एकताको दिशामा ठोस कदम चल्न सकिन्छ,” उनले भने।” एनआरएनए कुनै व्यक्ति वा समूहको मात्रै सङ्गठन होइन, यो विश्वभरका नेपालीहरूको साझा संस्था हो। त्यसैले व्यक्तिगत इगो र विगतका तीता मिठा घटनाक्रमलाई बिर्सेर संस्था र मातृभूमिको सर्वोपरि हितका लागि एकताबद्ध हुनुको विकल्प छैन,” साहले भने।




















