बिरालोलाई करणी गरेको आरोपमा पक्राउ परेका नेपाली सुरक्षागार्ड अवैधानिक !

क्वालालम्पुर (मलेसिया):= मलेसियाको शाहआलम कोटा केमुनिङस्थित एक अपार्टमेन्टमा बिरालोलाई करणी “बलात्कार” गरेको आरोपमा केही दिन पहिले प्रहरीद्वारा पक्राउ परी अनुसन्धानका लागि हिरासतमा रहेका नेपाली सुरक्षागार्ड कामदार अवैधानिक हैसियतमा कार्यरत रहेको पाइएको छ।

साथमा राहदानी रहे तापनि भिसा नरहेको अवैधानिक हैसियतमा अध्यागमन अनुमतिबिना काम गरेको थप अर्को आरोपमा अनुसन्धानका लागि थप १४ दिन हिरासतमा राखिएको छ। शाह आलमका कार्यवाहक प्रहरी प्रमुख, राम्से एम्बोलले भने कि ३३ वर्षीय आरोपित संदिग्धसँग वैध राहदानी थियो, तर काम गर्ने अनुमति “भिसा” थिएन।

उनले भने कि संदिग्ध विगत ६ वर्षदेखि मलेसियामै रहेको र विगत दुई महिनादेखि सो अपार्टमेन्ट ब्लकमा सुरक्षा गार्डको रूपमा काम गरिरहेको विश्वास गरिएको छ। स्थानीय मिडियाले उद्धृत गरेअनुसार उनले भने, “प्रारम्भिक जाँचमा ती अविवाहित नेपाली पुरुषसँग कुनै काम गर्ने अनुमति नभएको पाइयो र थप अनुसन्धानका लागि उनको अध्यागमन हिरासत आजदेखि १४ दिनका लागि थपिएको छ।”

यसअघि स्थानीय सञ्चारमाध्यमले रिपोर्ट गरेअनुसार उजुरीकर्ता मलेसियन दम्पती सो अपार्टमेन्टमा रहेको आफ्नो घर फर्कँदै गर्दा एक पुरुष नग्न अवस्थामा बिरालोलाई निर्दयतापूर्वक करणी र दुर्व्यवहार गरिरहेको देखे। उजुरीकर्ताका पतिले चौथो तलामा पुगेपछि रोक्न खोज्दा ती आरोपित सुरक्षागार्डले बिरालोलाई तल फालेर भागेका थिए।

ती कामदारलाई गत शनिबार बिहान ४:४५ बजे पक्राउ गरिएको थियो। यो कार्य आरोपितले मदिरा “रक्सी” को प्रभावमा झ्यापको तालमा यस्तो अनैतिक कार्य गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ। (बर्नामा)