काठमाडौं := फेम नेपाल र सनराइज इन्टरटेनमेन्टले संयुक्त रूपमा अमेरिकामा ‘हाँस्छ अमेरिका : भोल्युम १’ शीर्षकको स्ट्याण्ड-अप कमेडी टूर आयोजना गर्ने भएका छन् । यस टूरमा अहिलेका चर्चित हास्यकलाकार भरतमणी पौड्याल, सुमन कोइराला, कैलाश कार्की, सुमन कार्की, मेक्सम गौडेल र सजन श्रेष्ठ सहभागी हुनुहुने भएको छ ।
फेम नेपालका प्रमुख बिमलकुमार पछाईका अनुसार कलाकारहरूको भिसासम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा भइसकेकाले कार्यक्रम आयोजना निश्चित भएको हो । उहाँका अनुसार डिसेम्बरदेखि जनवरीसम्म १५ भन्दा बढी अमेरिकी सहरमा टूर हुने तयारी भइरहेको छ । यद्यपि, शहर र मिति भने चाँडै सार्वजनिक गरिनेछ ।
‘यी सबै प्रतिभाशाली कलाकारहरूले अमेरिकाभरका नेपाली दर्शकलाई हाँसो, रमाइलो र सन्देशमूलक मनोरञ्जन प्रदान गर्नेछन्,’ पछाईले भन्नुभयो, ‘हामीले अहिले शहर बुकिङ खुला गरेका छौं, आफ्नो शहरमा कार्यक्रम आयोजना गर्न इच्छुक स्थानीय आयोजक, समुदायका प्रतिनिधि र इभेन्ट प्रमोटरलाई सम्पर्क गर्न आग्रह गर्छौं ।’
कमेडियन भरतमणि पौड्यालका अनुसार टोली नोभेम्बर अन्त्यतिर अमेरिका उड्ने तयारीमा छ । उहाँले बताएनुसार कलाकारहरूले अहिले प्रसारणमा रहेको ‘कमेडी नाइट विथ च्याम्पियन्स’ का केही लोकप्रिय चरित्रहरू पनि मञ्चमा पुनः प्रस्तुत गर्नेछन् । टूरमा भरतमणि र सुमन कोइरालाले ‘घरबेटी’ र ‘माइकल’का भूमिकामा प्रस्तुति दिनुहुनेछ ।
त्यस्तै, कैलाश कार्कीले ‘भिकारी’, सजन श्रेष्ठले स्ट्यान्ड-अप सेग्मेन्ट र मेक्सम गौडेल तथा सुमन कार्कीले नयाँ चरित्रमार्फत दर्शकलाई हसाउने तयारी गर्नुभएको छ । फेम नेपालले यसअघि पनि टेक्सासमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको छ । यस पटकको ‘हाँस्छ अमेरिका : भोल्युम १’ टूरले अमेरिकास्थित नेपाली समुदायलाई हाँसो र संस्कृतिको नयाँ स्वाद दिने अपेक्षा गरिएको छ ।




















