भारतीय “बलिउड” चलचित्रका दिग्गज अभिनेता धर्मेन्द्रको निधन।

एजेन्सी (मुम्बई):= भारतीय चलचित्रका दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ। विले पार्लेको शमशान घाटमा अभिनेताका जेठा छोराले उनलाई मुखाग्नि दिएका छन् । उनको अन्त्येष्टिमा बलिउडका धेरै सेलिब्रेटीहरू उपस्थित थिए । यस क्रममा त्यहाँ अभिनेताको चर्चित फिल्म ‘शोले’का जय अर्थात् अमिताभ बच्चन पनि थिए । अमिताभ निकै भावुक देखिएका थिए ।

धर्मेन्द्रको निधनपछि फिल्म मेकर करण जोहरले पनि शोक व्यक्त गरेका थिए । अभिनेताको शव बोकेको एम्बुलेन्सको तस्बिर र भिडिओहरू सामाजिक सञ्जालमा पनि भाइरल भइरहेका छन् । यसअघि अभिनेतालाई नोभेम्बर १ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई नोभेम्बर १२ मा डिस्चार्ज गरिएको थियो । त्यति बेला नै धर्मेन्द्रको निधन भएको खबरमा पछि भारतीय सञ्चारमाध्यमसहित कैयौँ  सेलिब्रेटीले माफी नै मागेका थिए ।

अस्पतालबाट डिस्चार्ज भएपछि उनको घरमै हेरचाह भइरहेको थियो ।  बलिउडमा ‘ही-म्यान’ को नामले चिनिने धर्मेन्द्रले ६ दशकभन्दा लामो फिल्मी करियरमा अमिट छाप छोडेका छन्। उनको अन्तिम फिल्म ‘इक्किस’ डिसेम्बर २५ मा रिलिज हुँदैछ। धर्मेन्द्रको निधनपछि बलिउडमा शोकको लहर छाएको छ । उनको मृत्युले भारतीय सिनेमालाई ठुलो धक्का लागेको छ ।

उनको स्वास्थ्य लामो समयदेखि गम्भीर रहेको बताइएको थियो । फ्यानहरूले त्यतिबेलादेखि नै धर्मेन्द्रका लागि प्रार्थना गरिरहेका थिए । तर सोमबार उनको निधन भयो । अभिनेताका फ्यानहरू यो खबरले स्तब्ध भएका छन् । सामाजिक सञ्जालमा उनलाई श्रद्धाञ्जलिको ओइरो लागेको छ ।

उनको परिवारमा पत्नी हेमा मालिनी र ६ सन्तानहरू रहेका छन्। उनका सन्तानहरूमा अभिनेता सन्नी देओल, बबी देओल, ईशा देओल र आहना देओलका साथै अजिता र विजेता छन्।