दिल्लीको लाल किल्ला नजिकै ट्राफिक सिग्नल रातो भयो, कार रोकियो, विस्फोट भयो !

नयाँ दिल्ली:= दिल्लीको सबैभन्दा प्रख्यात पर्यटकीय क्षेत्रमध्येको एक, लाल किल्ला नजिकै सोमबार साँझको व्यस्त समयमा एउटा कार विस्फोट भएको छ। विस्फोटको कारणबारे अनुसन्धान भइरहेको छ। सोमबार साँझ ६: ५२ बजेतिर लाल किल्ला मेट्रो स्टेसनको गेट नम्बर १ नजिकैको सुभाष मार्गमा ट्राफिक सिग्नलमा यो घटना भएको हो। बिस्तारै गुडिरहेको एउटा कार रातो बत्तीमा रोक्ने बित्तिकै अचानक विस्फोट भएको थियो।

विस्फोटको तीव्रता यति धेरै थियो कि नजिकै रहेका धेरै मानिसहरू उछिट्टिए । उनीहरूको शरीरका टुक्राहरू यत्रतत्र छरिए। धेरै कारहरूमा आगो लाग्यो भने भवनका झ्यालका सिसाहरू फुटे । विस्फोट लगत्तै ६ः ५५ र ६ः ५६ बजे दिल्ली दमकल विभागमा कल आएको थियो।

दमकल विभागको नोटमा ‘लाल किल्ला मेट्रो स्टेसन गेट नम्बर १ गौरीशङ्कर मन्दिर नजिकै कुनै प्रकारको विस्फोट र सवारी साधनमा आगो’ भनिएको छ। यो स्थान चाँदनी चोक लगायत अन्य महत्त्वपूर्ण स्थानहरू नजिकै रहेको र त्यहाँ स्थानीय र पर्यटकहरूको बाक्लो भीड हुने गर्दछ।

अनुसन्धान तीव्र

विस्फोटको खबर पाउनसाथ दिल्ली प्रहरी र केही केन्द्रीय एजेन्सीका अधिकारीहरू घटनास्थलमा पुगेका थिए। बेलुका ८ बजेसम्म मृत्यु हुनेहरूको सङ्ख्या आठ पुगेको पुष्टि भएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले गृहमन्त्री अमित शाहसँग घटनाको बारेमा कुरा गरेका थिए। मोदीले एक्समा पोस्ट गर्दै मृतकका परिवारलाई समवेदना दिए र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे।

गृहमन्त्री अमित शाहले भने दिल्ली प्रहरी आयुक्त सतिश गोलचासँग लगातार सम्पर्कमा रहेको र सबै सम्भावनाहरूको खोजी गर्दै गहन अनुसन्धान गरिने जानकारी दिएका छन्।अनुसन्धानका लागि राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) का अधिकारीहरू एक घण्टाभित्रै घटनास्थलमा पुगेका थिए।

कारण अज्ञात
प्रारम्भिक अनुसन्धानबाट यो बम विस्फोट थियो भन्ने पुष्टि भएको छैन। एक वरिष्ठ अधिकारीले हिन्दुस्तान टाइम्ससँग भने, ‘घटनास्थलमा खाल्डो (क्रेटर) छैन। साथै, बम विस्फोटमा सामान्य हुने पेलेट वा स्प्लिन्टरका चोटहरू पनि रिपोर्ट भएका छैनन्।’

कारको सीएनजी वा इन्धन ट्याङ्की विस्फोट भएको हो वा होइन भन्ने स्पष्ट भइसकेको छैन। गृहमन्त्री शाहले उक्त गाडी हुन्डाई आई २० ह्याचब्याक भएको पहिचान गरेका छन्। यो घटना हरियाणाको फरिदावादमा ठुलो आतङ्कवादी मोड्युल भण्डाफोर भएको केही घण्टापछि भएको थियो।

यद्यपि, अनुसन्धानकर्ताहरूले राति १० बजेसम्म लाल किल्ला विस्फोटसँग आतङ्कवादको सम्बन्ध जोडेका छैनन्। यस घटनापछि देशभर उच्च सतर्कता अपनाइएको छ। मुम्बई, कोलकाता, उत्तर प्रदेश, महाराष्ट्र, राजस्थान र गुजरात लगायत धेरै राज्यहरूलाई तत्काल सतर्कतामा राखिएको छ।

प्रत्यक्षदर्शीको बयान
प्रत्यक्षदर्शीहरूले विस्फोटको भयानक दृश्य वर्णन गरेका छन्। एक स्थानीय पसलले भने, ‘मैले जीवनमा कहिल्यै यस्तो ठुलो विस्फोट सुनेको थिइनँ। विस्फोटले गर्दा म पनि ढलेँ। हामी सबै मर्नेछौँ जस्तो लागेको थियो।’

अर्का स्थानीयले घटनास्थल नजिक पुग्दा ुशरीरका टुक्राहरू सडकमा छरिएकोु र के भयो भनेर कसैले पत्ता लगाउन नसकेको बताए। विस्फोटबाट घाइते भएका एक अटोरिक्सा चालक जिशानले आफूभन्दा दुई फिट अगाडिको कारमा आगो लागेको बताए।