आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व सम्पन्न हुँदै।

काठमाडौं:= आज (मंगलबार) बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व सम्पन्न हुँदै छ । आज पोखरी र नदी किनारबाट उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ समापन गर्न लागिएको हो । छठका व्रतालुले मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका थिए । सूर्योदय कालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सम्पन्न गर्ने परम्परा छ ।

छठ पर्वमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल पनि सोमबार गौरीघाटस्थित गुहृयेश्वरी मन्दिर परिसरमा पुग्नुभएको थियो । देशका विभिन्न भागमा भव्य रूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुहृयेश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रही आएको छ ।

तर, यस वर्ष भने गुहृवेश्वरीमा मात्रै जानुभएको हो । यस्तै, प्रधानमन्त्री सुशीला कार्कीले सोमबार कमलपोखरी पुगेर छठको पूजा गर्नुभएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ ।

छठ पर्व आइतबारदेखि सुरु भएको हो । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।