टिकटकले नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने २४ लाख ७६ हजार ३ सय ४५ भिडियो हटायो।

काठमाडौं := विश्वव्यापी प्रयोगकर्ताका लागि सुरक्षित र सकारात्मक डिजिटल वातावरण सुनिश्चित गर्ने प्रतिबद्धताअन्तर्गत टिकटकले सन् २०२५ को दोस्रो त्रैमासिक (अप्रिल-जुन) कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ । जसअनुसार नेपालमा टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने २४ लाख ७६ हजार तीन सय ४५ भिडियोहरू हटाइएको जनाएको छ ।

तीमध्ये ९९.८ प्रतिशत भिडियोहरू सक्रिय रूपमा हटाइएका थिए, जसमा ९८.४ प्रतिशत २४ घण्टाभित्र नै हटाइएको टिकटकले जनाएको छ । विश्वव्यापी रूपमा प्लेटफर्मले एक सय ८९ मिलियनभन्दा बढी भिडियो हटाएको छ, जुन कुल अपलोडको करिब ०.७ प्रतिशत हो । तीमध्ये करिब एक सय ६३ मिलियन भिडियो अटोमेटेड डिटेक्सन प्रविधिबाट पत्ता लगाइएका थिए ।

साथै ७६.९ मिलियन नक्कली खाता र २५.९ मिलियन १३ वर्षभन्दा कम उमेरका खाता पनि बन्द गरिएका छन् । टिकटकले हटाइएका कन्टेन्टमध्ये ३०.६ प्रतिशत वयस्क विषयसँग सम्बन्धित, १४ प्रतिशत सुरक्षा तथा सभ्यता मापदण्ड उल्लंघन गर्ने र ४५ प्रतिशत गलत सूचना फैलाउने भिडियो रहेको उल्लेख गरेको छ । टिकटकले रिपोर्टमार्फत् पारदर्शिता र जिम्मेवार प्लेटफर्म सञ्चालनप्रतिको प्रतिबद्धता दोहोर्‍याएको जनाएको छ ।