क्वालालम्पुर (मलेसिया):= कोतारायास्थित मैडिन सुपरमार्केट-बसपार्क अगाडि भेटिएका नेपाली श्रमिक राजेन्द्र रेग्मी नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाको पहलमा सकुशल स्वदेश फर्किएका छन । रेग्मी यहीँ अक्टोबर २४ तारिखका दिन भएको बातिक एयरको हवाईविमानमार्फत नेपाल फर्किएका हुन ।
मलेसियामा एक सेक्युरिटी कम्पनीमा काम गर्न पाँच बर्ष अगडि मलेसिया आएका रेग्मी २८ सेप्टेम्बरबाट सम्पर्क विहिन भएका थिए । उनी सम्पर्कविहिन भएपछि परिवारले दूतावास, पिएनसिसि र मलायाखबर मिडियामार्फत खोजि गरिदिनुहुन पिएनसिसिलाई अनुरोध गरेको थियो । पिएनसिसि र घर-परिवारको निवेदनको आधारमा नेपाली राजदूतवास मलेसिया र मलाया खबरको आधिकारिक फेसबुक पेजमार्फत सूचना सार्वजनिक गरिएको थियो ।

त्यहि सुचनाको प्रभावले उनी १७ अक्टोबर, सुक्रबार साँझ कोताराया स्थित मैडिन अगाडि बस पार्कमा भेटिएका थिए। उनलाई उग्रतारा रेेेष्टुरेन्टका संचालक टेक टामोटाले भेटाएर दूतावासलाई भेटिएकोबारेमा जानकारी गराएका थिए ।
भेटिएलगत्तै पिएनसिसि मलेसिया टिमको समन्वयमा स्वदेश फर्किएका रेग्मीको स्वदेश फर्किदा लाग्ने सम्पूर्ण खर्च र कागजी प्रकृयाका लागि दूतावासले पहल गरि सम्बन्धित कम्पनीलाई जिम्मेवारी बहन गर्न बाध्य बनाएको हो, र बाध्य भएर सो सेक्युरिटी कम्पनीले रेग्मीलाई स्वदेश फर्किन लाग्ने आवश्यक सम्पुर्ण खर्च ब्यवहोरेको हो । रेग्मीलाई खोज्न सहयोग समन्वय गर्ने सम्पुर्णलाई रेग्मीको छोरीले धन्यवाद ज्ञापन गरेकी छिन् ।


















