म कुनै पनि राजनीतिक दलमा आबद्ध हुने विषयमा केहि छलफल भएको छैन: मन्त्री घिसिङ।

काठमाडौं := ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध हुने विषयमा कुनै छलफल नभएको स्पष्ट गर्नुभएको छ। मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टी सँग जोडेर विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रचारित समाचारहरू भ्रमपूर्ण र तथ्यहीन भएको बताउनु भएको छ।

उहाँले भन्नुभएको छ, “उक्त पार्टी र त्यसका अध्यक्षको नाममा मलाई जोडेर प्रकाशन भएका सूचनाहरू र समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। समाचारमा उल्लेख गरिएझैं म कुनै पार्टीमा आबद्ध छैन र त्यसबारे कुनै छलफलसमेत भएको छैन। प्रचार गरिएअनुसार जुम बैठकमा मेरो सहभागिता रहेको दाबी पनि पूर्णतः असत्य हो।”

घिसिङले आफूलाई नसोची, नबोली, दुषित मनसायका साथ असत्य सामग्री प्रचार गरिएको भन्दै त्यसको कडा खण्डन समेत गर्नुभएको छ। उहाँले त्यस्ता भ्रामक समाचारमा विश्वास नगर्न सबैलाई आग्रह गर्दै आगामी दिनमा आधारहीन सूचना सम्प्रेषण नगर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनु भएको छ।