एजेन्सी := प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको डिएनए परीक्षणबाट पनि मृत्यु भएको पुष्टि भएको छ । इजरायली सञ्चारमाध्यम ‘द जेरुसेलम पोष्ट’ र ‘टाइम्स अफ इजरायल’ का अनुसार सोमबार साँझ हमासले हस्तान्तरण गरेका चार शवमध्ये एक विपिनको रहेको डिएनए परीक्षणबाट खुलेको हो।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको दक्षिणी क्षेत्र किबुज अलुमिमबाट बन्धक बनाएका २३ वर्षीय विपिनको शव सोमबार अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझाइएको थियो ।रेडक्रसले उक्त शव इजरायली सेना (आइडिएफ) लाई हस्तान्तरण गरेको थियो । शव प्राप्त भएपछि इजरायली सेनाले राष्ट्रिय फरेन्सिक चिकित्सा संस्थानमा डिएनए परीक्षण गराएको थियो ।
परीक्षणको नतिजा विपिनको परिवारको डिएनए नमुनासँग मिलेपछि उहाँको मृत्युको औपचारिक पुष्टि भएको हो । इजरायली सेनाले विपिनको परिवारलाई यस खबरको जानकारी गराइसकेको र शव बुझ्नका लागि अनुरोध गरेको छ। आइडिएफका अनुसार, जोशीलाई किबुज अलुमिमको एक बम सेल्टरबाट अपहरण गरिएको थियो। प्राप्त गुप्तचर जानकारीका आधारमा युद्धको सुरुवाती महिनाहरूमै उहाँको हत्या गरिएको सेनाको अनुमान छ ।
यद्यपि, मृत्युको वास्तविक कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ । इजरायलको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि अध्ययनका लागि गएका विपिनसहित अन्य १६ नेपाली विद्यार्थी रहेको ठाउँमा हमासले आक्रमण गरेको थियो । उक्त आक्रमणमा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो भने विपिनलाई हमासले बन्धक बनाएर लगेको थियो ।




















