एजेन्सी := अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमास र इजरायलबीच सहमति भएको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत गाजामा बाँकी रहेका सबै बन्धक सोमबारसम्म रिहा हुने बताएका छन् । हमास र उसका सहयोगीले इजरायलबाट २५१ जनालाई अपहरण गरी गाजामा लगेको दुई वर्षभन्दा बढी भइसकेको छ। गाजा क्षेत्रमा अझै ४७ बन्धक बाँकी छन् ।
उनीहरूमध्ये कम्तीमा २० जना जीवित रहेका विश्वास गरिएको छ ।इजरायली सरकारले बाँकी ४८ बन्धकमध्ये २६ जनाको मृत्यु भइसकेको घोषणा गरेको छ । तर, अरू दुईजना तामिर निम्रोडी र नेपाली विद्यार्थी विपीन जोशीको अवस्थाबारे अझै अनिश्चितता कायमै रहेको सीएनएनले जनाएको छ । इजरायली सरकारले यसअघि उनीहरूको अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरेको थियो ।
जीवित रहेको विश्वास गरिएका बन्धक सबै पुरुष हुन् । उनीहरूमध्ये एकजनाबाहेक सबै २० देखि ३० वर्ष उमेर समूहका छन् । अघिल्ला युद्धविराम सम्झौतामा महिला, बालबालिका र ५० वर्षभन्दा माथिका पुरुषलाई रिहा गरिएको थियो । मारिएका घोषित २६ जनामध्ये इन्बार हाइमन एक मात्र महिला हुन् ।
अझै जीवित वा अवस्थाबारे अनिश्चित रहेका मध्ये ११ जना नोभा म्युजिक फेस्टिभलबाट अपहरण गरिएका थिए । आठजना दक्षिणी इजरायलका किबुत्ज (साना कृषि समुदाय)बाट र तीन इजरायली सैनिक हुन्। जुम्ल्याहा भाइ जिभ र गाली बर्मन सन् २०३० अक्टोबर ७ को आक्रमणका क्रममा किबुत्ज कफार–अजास्थित घरबाट अपहरणमा परेका थिए ।
त्यस बेला उनीहरू २६ वर्षका थिए । रिहा भएका अरू बन्धकले उनीहरू जीवित रहेका र अलग–अलग राखिएको जानकारी परिवारलाई दिएका थिए। दाजुभाइ एरियल र डेभिड कुनियो किबुत्ज नीर ओजबाट अपहरणमा परेका थिए। उनीहरूसँगै एरियलकी श्रीमती येहौद, डेभिडकी श्रीमती श्यारोन र तीन वर्षीया जुम्ल्याहा छोरीहरू युली र एम्मा पनि अपहरणमा परेका थिए ।
श्यारोन, युली र एम्मा २०२३ को नोभेम्बरमा युद्धविरामअन्तर्गत रिहा भए, जबकि येहौद यो वर्षको सुरुमा मुक्त भएका थिए । एतान हर्न आफ्ना भाइ आइएरलाई भेट्न जाँदा किबुत्ज नीर ओजबाट अपहरणमा परेका थिए । आइएर यो वर्षको सुरुमा रिहा भएका थिए । हमासले मार्चमा एक प्रचार भिडियो जारी गरेको थियो, त्यसमा उनले एतानलाई बिदाइ गरेको देखाइएको थियो ।
मातान जाङ्गाउकर र उनकी साथी इल्लाना ग्रित्जेस्की पनि सोही किबुत्जबाट अपहरणमा परेका थिए । मेक्सिकन नागरिक ग्रित्जेस्की २०२३ नोभेम्बर ३० मा रिहा भएकी थिइन्, जाङ्गाउकरलाई भने पछाडि छाडिएको थियो। ओम्री मिरान (त्यस बेला ४६ वर्षका) किबुत्ज नाहाल ओजस्थित उनको परिवारको घरमा हमासका बन्दुकधारी पसेपछि अपहरणमा परेका थिए ।
म्युजिक फेस्टिभलबाट अपहरित
गाइ गिल्बोआ–दलाल र एभियातार डेभिड बाल्यकालका घनिष्ठ साथी हुन्, जसलाई नोभा म्युजिक फेस्टिभलबाट सँगै अपहरण गरिएको थियो । २०२५ फेब्रुअरीमा हमासले उनीहरूले अरू बन्धक रिहा भइरहेको हेरिरहेको भिडियो टेलिग्राममा पोस्ट गरेको थियो । अविनातान ओर आफ्नी प्रेमिका नोआ अर्गामानीसँगै नोभा फेस्टिभलबाट अपहरणमा परेका थिए ।
नोआलाई २०२४ जूनमा इजरायली सेनाको कारबाहीमा गाजाको मध्य भागबाट उद्धार गरिएको थियो। अलोन ओहेल, योसेफ–चाइम ओहाना, एल्काना बोहबोट, सेगेभ काल्फोन, म्याक्सिम हर्किन, एतान अब्राहम मोर, बार कुपरस्टाइन र रोम ब्रास्लाभ्स्की पनि सोही फेस्टिभलबाट अपहरणमा परेका थिए ।
अक्टोबर ७ मा अपहरण गरिएका सैनिक
इजरायली सेनाका जवानहरू निम्रोड कोहेन, मातान एङ्ग्रेस्ट र तामिर निम्रोडी गाजामा अझै बन्धक रहेकामध्ये सबैभन्दा कम उमेरका हुन् । कोहेनलाई मार्च १ मा हमासको प्रचार भिडियोमा देखाइएको थियो ।
विदेशी नागरिक
नेपाली विद्यार्थी विपीन जोशी इजरायलको दक्षिणी भागस्थित किबुत्ज अलुमिमको एक कृषि फार्ममा काम गर्दा अपहरणमा परेका थिए । उनको परिवारले यसै हप्ताको सुरुमा विपीन जीवित रहेको पुरानो भिडियो हालै इजरायली सेनाले गाजामा फेला पारेको जनाएको थियो ।
जोशीबाहेक अरू तीन विदेशी नागरिक पनि गाजामा छन्, जसमा थाइल्यान्डका दुई र तान्जानियाका एकजना छन् । थाइल्यान्डका सोनथाया ओक्खाराश्री र सुद्थिसाक रिन्थलाक तथा तान्जानियाका जोशुआ मोलेललाई इजरायली सरकारले मृत घोषणा गरिसकेको छ ।
मृत अमेरिकी नागरिक
सरकारले मृत घोषणा गरेका २६ बन्धकका शव पनि सम्झौताअनुसार फिर्ता गरिनेछ । तर, इजरायली स्रोतले हमासलाई सातदेखि १५ बन्धकको शव कहाँ छ भन्ने थाहा नहुन सक्ने वा फिर्ता गर्न असमर्थ हुन सक्ने बताएका छन् ।मृत घोषितमध्ये ओमर म्याक्सिम न्युट्रा र इताय चेन अमेरिकी र इजरायली दोहोरो नागरिकता भएका सैनिक पनि समावेश छन् ।




















