काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको विकल्प तत्काल नखोज्ने भएको छ । ‘जेन-जी’ आन्दोलनपछि अरू दलहरूसँगै रास्वपासमेत पुनर्गठन गर्नुपर्ने आवाज उठिरहेका बेला नेताहरूले तत्काल सभापति लामिछानेको विकल्प खोज्न नहुने धारणा राखेका हुन् ।
मंगलबार बसेको केन्द्रीय समिति बैठकमा पाँच प्रदेशका सभापतिहरूले लामिछानेको विकल्प नखोजिएको बताएका हुन् । कोसी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिमका सभापतिहरूले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै सभापति रविको विकल्प नखोजिएको बताए ।
बागमती सभापति अच्युतम लामिछानेले सभापति रविको विकल्प नखोजिएको बताउनुभयो । ‘पुराना पार्टीमा चलेको हावामा रास्वपा कदापि विश्वास गर्दैनौँ,’ उहाँले भन्नुभयो । कोसीका सभापति तपेश्वर यादवले सभापति रविप्रति पूर्ण विश्वास भएकाले विकल्प नखोजिने बताउनुभयो । कोसीका कार्यबाहक सभापति सरिन तामाङले पनि सभापति रवि बिनाको रास्वपा परिकल्पना नगरिएको बताउनुभयो ।
तल उठेका कुरा केन्द्रमा राखिदिनुस् है भनेका कारणले सुझावहरू बुझाएको उहाँको भनाइ थियो । लुम्बिनी प्रदेशका सभापति देवराज पाठकले नेतृत्वबारे कुरै गर्न नपाउने रास्वपामा नहुने बताउनुभयो । ‘सभापतिको विकल्पबारे हामीले सोचेका पनि छैनौँ,’ उहाँले भन्नुभयो । सुदूरपश्चिमका सभापति प्रकाश विष्टले सभापति रविको विकल्प नखोजिएको बताउनुभयो । गण्डकी र कर्णालीका सभापति भने उपस्थित हुन नसकेको जानकारी गराइएको थियो ।
‘जेन-जी’ आन्दोलनपछि प्रमुख दलहरूमा नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस भइरहेको छ । रास्वपाकै केही नेताहरूले समेत यसबारे चर्चा गरेका छन् । रास्वपा नेतृ सुमना श्रेष्ठले यही विषय उठाएर पार्टी परित्याग गर्नुभएको छ । नेपाली कांग्रेससहित, नेकपा एमाले र माओवादी केन्द्रमा पनि यसबारे बहस भइरहेको छ । तर, तिनै पार्टीको नेतृत्वले पद छाड्ने संकेत गरेका छैनन् ।