अन्ततः सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति,संसद विघटन हुने।

काठमाडौं := अन्ततः लामो रस्साकस्सीपछि शीतल निवासमा प्रतिनिधिसभा विघटन र सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको छ । शीतल निवासमा वार्तामा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार आजै राति ८:४५ मा कार्कीलाई शपथ खुवाउने तयारी छ ।

शुक्रवार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । शीतल निवास सम्बद्ध स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल पछि हटेका हुन् ।

आन्दोलनमा रहेका केही युवाले तत्काल आन्दोलनकारी बोलाएर शीतलनिवास घेर्ने चेतावनी दिएपछि आफूले थेग्न नसकेको भन्दै पौडेलले प्रमुख दलका शीर्ष नेताहरूलाई आफूले प्रतिनिधिसभा विघटनको निर्णय गर्न लागेको र त्यस लगत्तै सुशीला कार्कीलाई प्रधानमन्त्रीमा शपथ गराउने तयारी गरेको बताए । वार्तामा जेन-जी समूहका प्रतिनिधि, राष्ट्रपति र सुशीला कार्कीका साथै कानुनविद्हरू सहभागी थिए ।