संसद विघटन र संविधान खारेज गरेर राजालाई अभिभावक बनाउनुपर्ने राप्रपाको माग।

काठमाडौँ:= राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान संसद विघटन र संविधान खारेज गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै राजालाई अभिभावकको भूमिकामा पुनःस्थापित गर्नुपर्ने सुझाव समेत दिएका छन् ।

लिङ्देनले जिम्मेवार व्यक्तिहरूको गैरजिम्मेवार क्रियाकलापले देशले अकल्पनीय र अपूरणीय क्षति बेहोर्नुपरेको उल्लेख गर्दै अब थप जनधनको क्षति रोक्न, मुलुकलाई दीर्घकालीन द्वन्द्वबाट जोगाउन र वैदेशिक हस्तक्षेप रोक्न तत्काल ठोस कदम चाल्नुपर्ने बताएका छन् ।

उनले अघि सारेका मुख्य प्रस्तावहरूमा–

  • वर्तमान संसदको विघटन र संविधानको खारेजी,

  • जेनजीको सहमतीमा अन्तरिम सरकार गठन,

  • अन्तरिम संविधानको निर्माण,

  • जेनजीको आन्दोलन दमनकारीहरूमाथि तत्काल कारबाही,

  • २०४६ सालपछि बनेका उच्च पदस्थ नेता–कर्मचारी र तिनका नातेदारहरूको सम्पत्तिको छानबिन र कारबाही,

  • जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, जसले दुई कार्यकाल भन्दा बढी निर्वाचित हुन नपाउने,

  • राष्ट्रपतिको सट्टा राजालाई अभिभावक संस्थाको रूपमा स्थापना गर्ने,

  • पूर्ण समानुपातिक संसद, जहाँ सांसदहरूले मन्त्री बन्न नपाउने,

  • प्रदेश संरचनाको खारेजी,

  • बलियो स्थानीय तह र गैरदलीय स्थानीय शासन व्यवस्था,

  • न्यायालयमा पुनःनियुक्ति प्रणाली,

  • विद्यार्थी, कर्मचारी लगायतका यूनियनहरूको खारेजी,

  • जसले र जहिले गरेको भएपनि सबै भ्रष्टाचार काण्डहरूको स्वतन्त्र छानबिन,

  • पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दू राष्ट्र,

  • संवैधानिक निकायहरूमा दलको सिफारिस नभई स्वतन्त्र र पारदर्शी नियुक्तिको व्यवस्था,
    जस्ता विषयहरू रहेका छन् ।

लिङ्देनले नेपालको मौलिकता, संस्कृति र सामाजिक सद्भावलाई कायम राख्ने खालको नयाँ संरचना आवश्यक रहेको समेत बताएका छन् ।