साउदी अरेबियासंग २४ घन्टे बिमासंगै फ्री भिसा-फ्री टिकट श्रम समझदारीको तयारी।

साउदी अरेबिया := नेपाल सरकारले साउदी अरबमा कार्यरत नेपालीको २४ घन्टे बिमा हुने गरी श्रम समझदारीको तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र साउदी अरब सरकारको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयबिच श्रम समझदारीपत्रमा छिट्टै हस्ताक्षर हुने जनाइएको छ ।

नेपाल सरकार मन्त्रीपरिषद्ले गत साता मात्रै नेपाल र साउदीबिच श्रम समझदारीपत्रमा हस्ताक्षर गर्न स्वीकृति दिएको थियो। सन् २०१० देखि नै साउदी अरबसँग श्रम सम्झौताको प्रयास हुँदै आए पनि सफलभएको थिएन। अब हुने समझदारीले नेपाली श्रमिकले अन्तर्राष्ट्रिय मानव अधिकारको सिद्धान्त अनुसारका अधिकार प्राप्त गर्ने र रोजगारदाताले लागत खर्च बेहोर्ने गरी ‘इम्प्लोयर पे पोलिसी’ अनुसारको सुविधा प्राप्त गर्ने छन् ।

श्रम मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले वैदेशिक रोजगारीमा जाने नेपालीको उचित संरक्षण, सुरक्षित रोजगारी र श्रम शोषणको विषयमा नेपाल सरकारले गम्भीर रूपमा विश्लेषण गरेर समझदारी गरिने जानकारी दिनुभयो। त्यसका लागि मन्त्रालयले विगतमा भएका श्रम समझदारीपत्रको समेत विस्तृत समीक्षा गरिरहेको र श्रमिक पठाउने देशमा श्रम शोषण र मानव अधिकार उल्लङ्घनका विषयमा सरकारले शून्य सहनशीलता नीति अपनाए अनुरूप नै समझदारीको तयारी भएको उहाँले बताउनुभयो ।

सन् २०३४ मा हुने फिफा विश्‍व कप आयोजनाको तयारीस्वरूप साउदीले विगतमा श्रम नीतिमा सुधार गरिरहेको छ । ‘मोडर्न डे स्लेभरी’ मानिने कफाला प्रणालीमा सन् २०२१ को मार्चमै सुधार गरिसकेको र श्रम ऐनमा परिवर्तन गरी विदेशी श्रमिकको न्यूनतम पारिश्रमिक तथा सेवा सुविधाको सुनिश्चितता गरेको छ। यसअघि नै ‘साउदी फन्ड’ को प्रयोग गरी नेपालमा अन्तर्राष्ट्रियस्तरको तालिम उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानसँग साझेदारी गरिसकेको छ ।

मन्त्रालयका अनुसार साउदी अरबसहित कतार, मलेसिया, इजरायल, दक्षिण कोरियालगायतका देशसँग श्रम समझदारीको नवीकरण प्रक्रियामा छ । यसै गरी स्पेन, पोर्चुगललगायतका केही अन्य युरोपेली देशसँग पनि श्रम सम्झौता तथा समझदारी गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालको श्रम गन्तव्य युरोपतर्फ केन्द्रित हुन थालेपछि युरोपकेन्द्रित श्रम सम्झौतालाई प्राथमिकतामा राखेको मन्त्रालयले जनाएको छ ।

नेपाल वैदेशिक रोजगार व्यावसायी सङ्घका अध्यक्ष भुवनसिंह गुरुङले नेपाल–साउदी श्रम समझदारी स्वागतयोग्य रहेको बताउँदै अन्य श्रम गन्तव्य देशसँग समेत यस्ता सम्झौता गर्न आग्रह गर्नुभयो । आकर्षक तलब सुविधा, श्रमिकमैत्री कानुन तथा अनुकूल मौसमका कारण खाडीको श्रम गन्तव्य युरोपतिर मोडिँदै गएको छ ।

नेपाली श्रमिकले मध्यम कमाइ र मर्यादित कामलाई प्राथमिकता दिँदा खाडी जस्ता आउटडोर कार्य क्षेत्र भएका देशमा जाने क्रम कम भएको देखिन्छ । तीन वर्षयता युरोपका पोल्यान्ड, साइप्रस, माल्टा, क्रोएसिया, रोमानिया र बेलायतलगायतका श्रम गन्तव्यमा रोजगारीका लागि जाने नेपाली श्रमिकको सङ्ख्यामा वृद्धि हुँदा कतार जाने नेपालीको सङ्ख्या भने घटेको छ ।

समाचार स्रोत : सीता शर्मा / गोरखापत्र बाट साभार गरिएको हो।