काठमाडौं := नेपाली कांग्रेस निकट प्रवास संगठन “नेपाली जनसम्पर्क समिति मलेसिया”को नियमित बैठक सम्पन भएको छ । परदेशी भूमिमा नेपाली कांग्रेसको विचार, नीति र अभियानलाई सशक्त बनाउन सक्रिय समितिका सभापति चोलाकान्त पंगेनीको अध्यक्षतामा नेपाली जनसम्पर्क समिति मलेसियाविशेष बैठक सम्पन्न भएको हो ।
बैठकमा मलेसियामा आगामी अधिवेशनको तयारी, संगठनको आन्तरिक व्यवस्थापन, सदस्यता नवीकरण अभियान, साथै सामाजिक र राजनीतिक गतिविधिमा नेपालीहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा विस्तृत छलफल गरिएको महामन्त्री हरिप्रसाद कोइरालाले जानकारी दिए।

सभापति पंगेनीले बैठकको अध्यक्षता गर्दै भने,
“जनसम्पर्क समिति केवल परदेशमा संगठन मात्र होइन, यो नेपाली कांग्रेसको वैचारिक दूत हो। हामी विदेशको कर्मभूमिमा कांग्रेसको मूल्यमान्यता, लोकतान्त्रिक सोच र जनअपेक्षाको प्रतिनिधित्व गरिरहेका छौं। संगठन अझ सशक्त र सुसंगठित हुनुपर्छ,” उनले भने।
बैठकमा उपसभापति, महासचिव, कोषाध्यक्ष, क्षेत्रीय संयोजक, सल्लाहकार तथा क्रियाशील सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै, अन्य दल परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्नेहरूको संख्यापनि उल्लेखनीय रहेको प्रवक्ता सरोज दाहालले जानकारी दिए।

पार्टी प्रवेश गर्नेमा नेपाल तामाङ घेदुङ राष्ट्रिय समन्वय परिषद् सदस्य मिलन दोङ तामाङ , नेपाल तामाङ घेदुङ मलेसियाको वरिष्ठ उपाध्यक्ष छेवाङ पाख्रीन तामाङ , विष्णु तामाङ , अस्मिता तामाङ , सुन्तली तामाङ लगायतको युवा युवतीहरु रहेका छ्न ।
बैठकले आगामी दिनमा विचार–विमर्श कार्यक्रम, कार्यकर्ता अभिमुखीकरण, नेपालीसँग प्रत्यक्ष संवाद तथा सञ्चार प्रवाहलाई थप व्यवस्थित बनाउने कार्ययोजना समेत तयार पारेको समितिले जनाएको छ।



















