सेपाङ (क्वालालम्पुर):= मलेसियन सीमा नियन्त्रण तथा सुरक्षा एजेन्सी (MCBA) ले एकीकृत अभियानमार्फत २४ घण्टाभित्र कुल २२९ विदेशी यात्रुलाई क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (KLIA) मा प्रवेश निषेध (NTL) आदेश जारी गरेको छ।
मंगलबारको दिन सुरु भई बुधबार बिहान ७:३० मा सम्पन्न भएको उक्त अभियानमा ( KLIA ) टर्मिनल १ र २ का अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान हलमार्फत मलेसिया प्रवेश गर्न लागेका ७६४ विदेशीको जाँच गरिएको थियो। जाँचको क्रममा सबैभन्दा धेरै बंगलादेशी नागरिक परेका छन् – २०४ जना, त्यसपछि भारत (१४), श्रीलंका (३), पाकिस्तान (३), इन्डोनेशिया (३) र कम्बोडिया (२) रहेका छन्।
सुरक्षा एजेन्सी (MCBA) का अनुसार, विदेशी हरुलाई चेकजाँचको क्रममा मलेसियामा प्रवेश निषेधका मुख्य कारणहरूमा नक्कली होटल बुकिङ देखाउनु, पुनः आफ्नो देश फर्किने टिकट नभएको, र पर्याप्त आर्थिक साधन प्रमाणित गर्न नसकेको बताएका छ्न ।
उनीहरू प्रवेश सुविधा दुरुपयोग गरी अवैधरूपमा मलेसिया भित्र बस्ने र काम गर्ने योजनामा रहेको आशंका गरिएकोले चेकजाँच गरिएको थियो । तिनीहरु सबैलाई आ-आफ्नो देश फिर्ता पठाइने जनाएको छ। एजेन्सीले प्रवेश बिन्दुमा निगरानी अझै कडा पार्ने र विदेशीहरूलाई अवैधरूपमा भित्र्याउन संलग्न जो कोही, अधिकारी समेत, सबैमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ। NST




















