“३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस–२०२५” सम्पन्न, महासंघको अध्यक्षमा भागरथी कुमार।

युएई: युएईमा पनि “३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस–२०२५” भब्यताका साथ मनाएको छ । नेपालको संविधानद्वारा प्रदत्त अधिकार लागू गर, आदिवासीहरूको विशेष क्षेत्राधिकार, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहमा सरकारी कार्यमा आदिवासी जनजातिको मातृभाषा प्रयोग गर” भन्ने मूल नारासहित “३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस–२०२५” युएईमा विविध कार्यक्रमसहित भव्यतापूर्वक मनाएको हो ।

कार्यक्रममा प्रमुख अतिथि तथा नेपाली दूतावास युएईका उपमहावाणिज्यदूत कृष्णप्रसाद चापागाईंले विदेशमा रहँदा पनि नेपाली संस्कृति जगेर्ना गर्न आदिवासी जनजातिहरूले गरेको योगदान प्रशंसनीय रहेको बताए। नेपाल आदिवासी जनजाति महासंघ युएईअन्तर्गत आवद्ध जातीय समाज संघसंस्थाहरूले आफ्ना मौलिक पहिचान झल्काउने झाँकी र परम्परागत संस्कृति प्रदर्शित गरे। साथै, विभिन्न परिकार र सामग्रीको स्टल राखी प्रदर्शनी गरिएको थियो ।

समारोहमा आ–आफ्नो समाजबाट विशेष योगदान पुर्याएका एक महिला र एक पुरुषलाई सम्मान गरिएको थियो। यस अवसरमा नेफिन युएईको हालै सम्पन्न १०औं महाधिवेशनबाट चयन भएको २०२५–०२७ कार्यकालका लागि थारु कल्याणकारी सभा युएईका अध्यक्ष भागरथी कुमार भगत “थारु”को अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा समितिमा वरिष्ठ उपाध्यक्ष राजु मिलु गुरुङ, उपाध्यक्ष धनकृष्ण राई, शम्भु वाइवा तामाङ, बुद्धबहादुर तामाङ, महिला उपाध्यक्ष शिला राना मगर, महासचिव मनिषा लिम्बु, सचिव देवबहादुर भुजेल, सह–कोषाध्यक्ष रमानन्द चौधरी, सदस्य रिमिका सुनुवार, प्रेम बी. मगर, सुस्मिता तमुस्यो छन् भने कोषाध्यक्ष पद रिक्त छ। महिला विभाग प्रमुख सबिना चाम्लिङ राई, प्रवक्ता काजल तामाङ, सांस्कृतिक विभाग प्रमुख प्रदीप पुन मगर, जनसम्पर्क सचिव देवी माया सुनुवार, राहत तथा उद्धार कोष संयोजक बबिता रास्कोटी मगर चयन भए।

यसैगरी, नेफिन युएईले विगतदेखि सञ्चालन गर्दै आएको “मिस्टर एण्ड मिस इन्डिजिनियस” प्रतियोगिताको निरन्तरतास्वरूप “मिस्टर एण्ड मिस इन्डिजिनियस–२०२५” पनि सम्पन्न भयो। यसमा मिस्टर इन्डिजिनियसको उपाधि थारु कल्याणकारी सभा युएईका किसन लाल चौधरीले र मिस इन्डिजिनियसको उपाधि सुनुवार सेवा समाज शाखा युएईकी देवी माया सुनुवारले जिते।

कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष विक्रम लिम्बुको सभापतित्वमा सम्पन्न भयो। कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष राम मोक्तान, नेपाल एशोसिएसन एनआरएन युएईका अध्यक्ष विकास शाही, आदिवासी जनजाति युवा महासंघ युएईका अध्यक्ष दीपक थापा मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युएईका अध्यक्ष फलेन्द्र बलम्पाकी मगर, युएईका विभिन्न राजनीतिक भातृसंगठनका अध्यक्ष तथा संघसंस्थाका प्रमुखहरूको उपस्थिति थियो।

नेपाल आदिवासी जनजाति महासंघ युएईमा हाल तमु समाज युएई, नेपाल मगर संघ शाखा युएई, तामाङ समाज युएई, किरात राई यायोक्खा शाखा युएई, किरात याक्थुङ चुम्लुङ युएई, थारु कल्याणकारी सभा युएई, नेवा: पुचः युएई, शेर्पा किदुङ युएई, प्रवासी भुजेल समाज सेवा समिति युएई, सुनुवार सेवा समाज शाखा युएई, माझी समाज युएई आवद्ध छन्। यस वर्षको कार्यक्रममा राजवंशी सेवा समाज युएई र आदिवासी युवा महासंघ युएईको सहकार्य थियो। प्रमुख मिडिया साझेदारको रूपमा आदिवासी जनजाति पत्रकार महासंघ युएई रहेको थियो।

अध्यक्षमा निर्वाचित भागरथी कुमार भगत “थारु”

संयुक्त राष्ट्रसंघको साधारण सभाले १९९४ डिसेम्बर २३ मा ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रूपमा मनाउने निर्णय गरेपछि विश्वभर यो दिवस मनाउने परम्परा सुरु भएको हो। तर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सार्वजनिक बिदा मिलाउने हिसाबले कार्यक्रम आयोजना गर्ने गरेका छन्। सोही अनुसार यस वर्ष युएईमा १० अगस्ट, आइतबारका दिन कार्यक्रम सम्पन्न गरिएको हो।