यूएईमा एक वर्षको अवधिमा ३१२ जना नेपाली कामदारको मृत्यु, करिबकरिब ८ लाख नेपाली कार्यरत।

युएई := संयुक्त अरब इमिरेट्स (यूएई)मा पछिल्लो एक वर्षको अवधिमा ३१२ जना नेपाली कामदारको ज्यान गएको छ । अबुधाबीस्थित नेपाली दूतावासका अनुसार हालसालै सम्पन्न आर्थिक वर्षको वैशाख महिनामात्र ३५ जनाको शव नेपाल पठाइएको थियो, जुन सो वर्षकै सबैभन्दा बढी संख्या हो ।

दूतावासका अनुसार अहिले कुनै पनि शव यूएईमा बाँकी नरहेको बताइएको छ । यद्यपि कहिलेकाहीँ प्रहरी अनुसन्धान (पुलिस केस) परेका घटनामा शव नेपाल पठाउन केही ढिलाइ हुने गरेको छ । यूएई नेपाली कामदारका लागि प्रमुख श्रम गन्तव्य रहँदै आएको छ । दूतावासको अनुमान अनुसार हाल यूएईमा झण्डै ८ लाख नेपाली रहेका छन् ।

तीमध्ये करिब ६ लाख ५० हजार जना श्रम स्वीकृति लिएर पुगेका हुन् भने ७० हजारजना नेपाली नेपालबाट भिजिट भिसामा यूएई पुगेपछि वर्किङ भिसामा रूपान्तरण भई कार्यरत छन् । बाँकी अन्य नेपालीहरू परिवार, पर्यटक, विद्यार्थी, इन्भेस्टमेन्ट र गोल्डेन भिसा लिएर बसेका छन् । यूएईस्थित नेपाली दूतावासका कन्सुलर (श्रम) दीपेन्द्र पौडेलका अनुसार नेपाली श्रमिकहरूको संख्या लगातार बढ्दो छ ।

आर्थिक वर्ष २०८१÷८२ को ११ महिनामै २ लाख १ हजार १४८ नेपाली श्रमिक यूएई पुगेका थिए । यद्यपि यूएईमा नेपाली श्रमिकले विविध चुनौती पनि सामना गरिरहेका छन् । सीप र भाषा अभावमा धेरै नेपाली युवाहरू त्यहाँ पुगेपछि कठिनाइमा पर्ने गरेका छन् । दूतावासका अनुसार विशेष गरी २०–२२ वर्ष उमेरका युवा बिना तालिम र अनुभव काम गर्न जाँदा समस्या देखिएको हो ।

केही अवस्थामा ज्यानसमेत जोखिममा पर्ने अवस्था आएको छ । केही समयअघि एक नेपाली लाइफ गार्ड युवराज थापा विरुद्ध ड्युटीमा एक व्यक्तिको डुबेर मृत्यु भएपछि ८३ लाख रुपैयाँ बराबरको ब्लड मनी नेपालबाट संकलन गरेर तिर्नुपरेको थियो ।

यूएईमा अध्यागमनसम्बन्धी नियम उल्लंघन गर्ने नेपाली पनि निरन्तर डिपोर्ट हुने गरेका छन् । औसतमा दैनिक १२–१५ जना नेपाली विभिन्न कारणले यूएईबाट डिपोर्ट हुने दूतावासले जनाएको छ । त्यस्तै, हालसम्म झण्डै ३४३ नेपाली यूएईका जेलमा रहेका छन् भने डिटेन्सनमा पर्नेहरूको संख्या नियमित रुपमा फेरिइरहन्छ । जनसवाल राष्ट्रिय दैनिकबाट