मलेसियामा मादक पद्धार्थ सेवनको दु:खद परिणामसंगै, एक सफल उद्धार कार्य।

मादक पदार्थ सेवन आज नेपाली समाजमा एक जटिल र गम्भीर समस्या बनेको छ । विशेषगरी वैदेशिक रोजगारमा रहेका नेपालीहरूले मानसिक, पारिवारिक र दैनिक कामबाट हुने तनाव कम गर्न मादक पदार्थमा आश्रित हुने प्रवृत्ति बढ्दो छ । मादक पदार्थको नियमित सेवनले उनीहरूलाई केवल शारीरिक रूपमा मात्र कमजोर बनाउँदैन, उनीहरूको जीवन नै जोखिममा पार्दछ ।

त्यसको ज्वलन्त उदाहरण १ नेपाली युवा कुमार बस्नेत (परिवर्तित नाम) को हो । उहाँ धेरै मात्रामा मादक पदार्थ सेवन गरी अत्यन्त गम्भीर बिरामी अवस्थामा मलेशियाको सडकमा बेवारिसे अवस्थामा भेटिनुभयो ।

घटना विवरण:

४ जुलाई २०२५ को दिन म मलेसियामा मेरो नियमित काममा जाँदै थिएँ । अचानक मेरो फोन बज्यो । फोन उठाउँदा एक नेपाली भाइले जानकारी गराए कि एक अपरिचित नेपाली व्यक्ति बिरामी अवस्थामा सडकमा लडिरहेको छ । मैले तुरुन्तै उहाँलाई आग्रह गरें कि उक्त व्यक्तिलाई कुनै पनि उपायले नेपाली दूतावासमा पुर्‍याई दिनुहोस् । यस्तो सुचना पाए पछि म सिधै दूतावास पुगें र सम्बन्धित अधिकारीलाई जानकारी गराएँ । केहीबेरपछि बिरामी व्यक्तिलाई दूतावास ल्याईयो । हामीले उहाँको अवस्था देख्दा, उहाँ निकै गम्भीर हुनुहुन्थ्यो । आँखादेखि शरीरसम्म पहेँलो रंगमा परिणत भइसकेको थियो। सम्भवत: मादक पदार्थको अत्यधिक सेवनका कारण लिवर फेलियर वा जन्डिस जस्तो समस्या अनुमान गर्न सकिन्थ्यो । दूतावासको सहयोगमा तत्कालै एम्बुलेन्स बोलाई हस्पिटलमा भर्ना गरियो ।

उद्धार र स्वदेश फिर्ती:

यस उद्धार प्रक्रियामा नेपाली राजदुतावास मलेशियाले विशेष भूमिका निर्वाह गर्‍यो। प्रवासी नेपाली समन्वय समिति (PNCC) ले बिरामीको परिवारको खोजी गर्यौं र उनीहरूलाई सम्पर्कमा ल्यायौं। उता, नेपाली राजदूतावासले बिरामीको कम्पनीसँग सम्पर्क गरी नेपाल फर्कने सम्पूर्ण खर्चको व्यावस्था गर्यो । नेपाली दूतावासको सहयोगमा २० जुलाई २०२५ मा जलान दुत्ता क्वालालम्पुर मा उहाँको इमिग्रेशन प्रक्रिया (फिङ्गरप्रिन्ट) पुरा गरियो । सोही रात उहाँलाई एयरपोर्ट पुर्‍याइयो र २१ जुलाई २०२५ मा नेपाल एयरलाइन्समार्फत काठमाडौँ पठाइयो । त्रिभुवन विमानस्थलमा PNCC नेपाल र उहाँका भाइले उहाँलाई जिम्मा लिए ।

घट्टनाले दिएको सन्देश:

यस घटनाले मादक पदार्थ सेवनको दुष्परिणाम बारे गहिरो चेतावनी दिन्छ । यदि समयमै उद्धार नगरिएको भए, बस्नेत जस्तो मेहनती नेपालीको ज्यान परदेशमा गुम्न सक्थ्यो । आज मलेसिया जस्तो देशमा यस्ता बेवारिसे र संकटमा परेका नेपालीहरूको संख्या दिन प्रति दिन बढ्दो छ ।
अत: यो घट्टनाको जानकारी मार्फत सबै नेपाली दाजुभाइलाई अनुरोध गर्न चाहन्छु । मादक पदार्थ सेवनबाट बचौं, जीवनलाई सम्मान गरौं । विदेशमा हामी मात्र श्रमिक होइनौं, हामी हाम्रो परिवारको आशा र देशको प्रतिनिधि पनि हौं ।
PNCC र नेपाल राजदूतावास मलेशियाको सहकार्यमा सम्पन्न यो उद्धार कार्यले देखाएको छ कि समय मै सही निर्णय र सहकार्यले जीवन बचाउन सकिन्छ ।
अबको चुनौती हो यस्ता घटनाको न्यूनीकरण र नयाँ पुस्तालाई सचेत बनाउनु ।

#मादक_पदार्थ_छाडौं
#जीवन_बचाऔं
#मानवता_अग्रसर_बनाऔं

लेखक: पुर्ण लिम्बू
पिएनसिसि वाह्यसम्पर्क संयोजक, मलेसिया